राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताएकी छन् ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्‍घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताएकी हुन् ।  

‘समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामीले तीव्र विकास, स्वदेशमै रोजगारीको सिर्जना, उच्च आर्थिक वृद्धिजस्ता लक्ष्य हासिल गर्नुपरेको छ, यसका लागि आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नु नै प्रमुख आधार हो,’ उनले भनिन् । 

आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उनको धारणा थियो । राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युतलाई नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताइन् ।  ‘हामीले प्रकृतिलाई अझ सिँगारेर विकासका कार्य अगाडि बढाउनुपर्छ,’ उनले भनिन् । 

राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवर्द्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्न सकिने बताइन् ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा उग्रचण्डी नाला क्षेत्रलाई आध्यात्मिक केन्द्रका रूपमा विकसित गर्न उद्यान निर्माण गरेकामा बधाई दिँदै उनले प्रकृति र संस्कृतिको अतुलनीय संगम बनेको नेपाललाई अनेकन् तवरले अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सकिने बताइन् ।   





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १६:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया