नगरप्रमुख यादवलाई लोसपाले बुझायो ज्ञापनपत्र

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले जनसहभागितामूलक योजनाहरु समावेश गर्नुपर्ने माग गर्दै नगराइन नगरपालिकाका नगरप्रमुख विनय यादवलाई ज्ञापनपत्र बुझाएको छ । 

लोसपा नेता राजु चौधरीले बुझाएको ज्ञापनपत्रमा नगराइन नगरपालिकाको श्वेतपत्र, सम्पूर्ण बैठकहरुको प्रत्यक्ष प्रसारण, आर्थिक वर्ष २०७८–०७९ को प्राकृतिक आपदा विपदा कोषको गठन, नगरपालिकाको नामाकरण, दलित, असहाय, पीडित एवम् गरिब परिवारको कन्यादान गर्न ५० हजार रुपैयाँ बिवाह खर्च अनुदान, कामकाजी महिलाहरुलाई मासिक धर्ममा २ दिनको बिदा स्वीकृत गर्ने तथा महिला एवं छात्राहरुलाई हरेक महिना निःशुल्क सेनिटरी प्याड वितरण गनुपर्ने माग गरिएको हो । 

त्यस्तै, नवजात शिशुको पालनपोषण गर्न विनाकुनै भेदभाव हरेक महिलालाई एकमुष्ट ५ हजार रुपैयाँ प्रदान गर्न, नारीविरुद्ध हुने हिंसा, उत्पीडण, अत्याचार रोकथाम एवं सुरक्षा प्रदान गर्न २४सै घण्टा तत्पर टोली गठन गरी इमरजेन्सी हेल्पलाइन नम्बर उपलब्ध गराउन माग गरिएको छ ।
 
महिलाहरुलाई अत्मनिर्भर बनाउन प्रशिक्षण तालिम, जटहीमा निर्माणाधिन सहिद दुर्गानन्द झा स्मृति अस्पताललाई आधुनिक सेवा सुविधायूक्त अस्पताल बनाउन, यथाशिघ्र बर्थ सेन्टरको स्थापना गर्न, निशुल्क स्वास्थ उपचार एवं औषधि प्रदान गर्न, स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत गरिब, असहाय, दलित, अशक्त, मुस्लिम, पिछड़ा, अति पिछडा, एकल महिला एवं ज्येष्ठ नागरिकलाई २ हजार ५०० थैली भुक्तान नगरपालिकाद्वारा प्रदान गर्नसमेत ज्ञापनपत्रमार्फत माग गरिएको छ । 

प्रत्येक सरकारी स्कुलमा गरिब, असहाय, दलित, असक्त, मुस्लिम, पिछडा, अति पिछडा एवं जेहेन्दार बालबालिकाहरुको निम्न प्राथमिकदेखि १२ कक्षासम्म निशुल्क शिक्षा तथा सम्पूर्ण शैक्षिक सामग्री निःशुल्क प्रदान गर्नुपर्नेलगायत २६ सूत्रीय माग गरिएको छ । 

ज्ञापनपत्रमार्फत जनप्रतिनिधिलाई यथाशीघ्र विशेष बैठक बसी जनतासमक्ष गरेको बाचा र जनताको हकमा हुने जनसहभागितामूलक तथा जनकल्याणकारी योजनाहरुको बृहत् छलफल र स्पष्ट नीति निर्माण गर्न आह्वान गरिएको छ ।

पटक–पटक बुझाइएको ज्ञापनपत्र र सुझाबसमेतलाई बेवास्ता गरी नगरपालिकालाई अनिर्णयमा राखेर राजनीतिक बन्धक बनाउने प्रयास भए चरणबद्ध आन्दोलनमा उत्रने लोसपा नेपाल नगराइन नगरपालिका नगर कमिटीका अध्यक्ष नवलकिशोर झाले चेतावनी दिएका छन् ।





  • प्रकाशित मिति : माघ ११, २०७९ बुधबार १७:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया