नेतृत्वविहिन बन्यो राष्ट्रिय स्वतन्त्र पार्टी, छायो सन्नाटा
फाइल तस्वीर ।

७ असार २०७९ मा राष्ट्रिय सभा गृहमा एउटा भव्य कार्यक्रम गरेर रवि लामिछानेले पार्टी गठन गरेका थिए– राष्ट्रिय स्वतन्त्र पार्टी । त्यसको ६ दिनअघि मात्र उनले ग्यालेक्सी टिभी छाडेर आफू पूर्णकालीन राजनीतिमा लागेको स्टाटस फेसबुकमा लेखेका थिए । 

त्यति बेला निर्वाचनको मिति तय भइसकेको थियो । रविको पार्टीले ४ मंसिरमा भएको निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने निर्णय गर्यो ।

छोटो समयमा नै यो पार्टीले लोकप्रियता पाएको निर्वाचनको परिणामले देखायो । ७ ठाउँमा प्रत्यक्ष निर्वाचन जितेको यो पार्टीले १३ सिट समानुपातिक प्रणालीमा पायो । २० सिटसहित संसदको चौथो ठूलो दल बनेको पार्टीले सत्ता गठबन्धनमा पनि राम्रो स्थान पाएको थियो । उपप्रधानमन्त्रीसहित यही पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भए । अन्य दुई मन्त्रालयको जिम्मेवारी यो पार्टीका सांसदले पाए, सभामुखमा पनि यही पार्टीकी नेतृ चयन भएकी छिन् ।

तर, शुक्रबार सर्वोच्च अदालतको फैसलाबाट सांसद, मन्त्री तथा पार्टी सभापतिबाटसमेत पदमुक्त भएका रवि लामिछानेको बर्हिगमनपछि यो पार्टी नेतृत्वविहिन बनेको छ ।

शुक्रबार गृह मन्त्रालयबाट बाहिर निस्किँदै गर्दा रवि लामिछाने स्वयंले आफू अब यो पार्टीको सभापति नरहेको बताएका छन् ।

उनको पद सर्वोच्चको आदेशसँगै खारेज भए पनि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर गृहमन्त्रीबाट राजीनामा दिएका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु अहिले आन्तरिक छलफलमा रहेका छन् । उनीहरुले औपचारिक रुपमा बैठक त बोलाएका छैनन् तर अब के गर्ने भन्ने टुंगो पनि लगाउन सकिसकेका छैनन् ।



सर्वोच्चको यो फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि फोन सम्पर्कमा आएका छैनन्, अहिलेसम्म कसैले पनि औपचारिक रुपमा प्रतिक्रिया समेत दिएका छैनन् ।

नागरिकता पुनप्र्राप्तिका लागि निवेदन दिएमा रवि लामिछानेले छोटो समयमा नै नागरिकता पाउन सक्छन् । तर, त्यति बेलासम्म राष्ट्रिय स्वतन्त्र पार्टी कसले नेतृत्व गर्ने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।



अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा दोस्रो वरियतामा श्रममन्त्रीसमेत रहेका डोलप्रसाद अर्याल छन् । उनले नै केही समयमा लागि पार्टीलाई नेतृत्व प्रदान गर्न सक्ने अनुमान गरिएको छ ।

नागरिकता अवैध भएसँगै रविमाथि अर्को समस्या थपिएको छ । उनले नागरिकता कायम नै नगरि नेपाली पासपोर्ट लिएका छन् । यो विषयमा पनि सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्यसैले रवि लामिछाने तत्काल पूर्णकालीन राजनीतिमा आउन नसक्ने सम्भावना पनि बढेको छ ।

  • प्रकाशित मिति : माघ १३, २०७९ शुक्रबार २०:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया