जनकपुरधाममा विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सुरू

जनकपुरधाममा मंगलबारदेखि ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’ सुरु भएको छ । हरिज स्पोर्टस जोनले स्थानीय रंगभूमी मैदानमा प्रतियोगिताको आयोजना गरेको हो । 

खेलको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह र वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साहले संयुक्त रूपमा गरेका थिए । उपप्रमुख साहले उपमहानगरले खेलमा लगानी गर्ने प्रतिबद्धता जनाए । उनले खेल विकासको लागि आवश्यक खाका लिएर आउन क्रिकेट संघलाई सुझावसमेत दिए । 

धनुषा क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डेले मैदान अभावमा अपेक्षा अनुसार खेलाडी उत्पादन र क्षमता विकास गर्न नसकिएको बताए । ‘वर्षौदेखि खेलको समस्या जहाँको त्यँही छ,’उनले भने,‘तर अहिलेसम्म स्थानीय सरकारले एउटा भएको मैदानलाई व्यवस्थित बनाउन सकेको छैन । नेता र जनप्रतिनिधिहरु चुनावको बेला मात्रै ठुला ठुला भाषण गर्छन् ।’

राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक १२ वटा विद्यालयहरूको सहभागिता रहेको जानकारी दिए । 

लिगको आधारमा भइरहेको प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका विद्यालयहरूले भाग लिएको उनले बताए । प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढी सङ्ख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले जानकारी दिए । 



उनले बालबालिकालाई खेलप्रति रुची जगाउन र मानसिक तथा शारीरिक रूपमा मजबुत बनाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । भोलिको दिनमा क्रिकेट खेलमा बालबालिकालाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए । 

प्रतियोगिताको विजेताले आकर्षक ट्रफि, मेडल र प्रमाणपत्रहरू प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न भएपछि प्रतिभावान खेलाडीहरूको समूह बनाएर नियमित प्रशिक्षण दिइने आयोजक संस्थाको तयारी छ । 



  • प्रकाशित मिति : माघ १७, २०७९ मंगलबार १६:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया