नाउपाको अडानले सुदूरपश्चिम सरकार कांग्रेसको पोल्टामा जाने संकेत
अध्यक्ष रञ्जिता श्रेष्ठको साथमा नाउपाका प्रदेश सांसद

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कांग्रेसले गर्ने संकेत देखिएको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज पनि विश्वासको मत पाउन मुस्किल देखिएपछि प्रदेश सभाको सबैभन्दा ठूलो दलका हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व पाउने देखिएको हो ।

विश्वासको मतको प्रयोजनका लागि आज दिउँसो १ बजे बोलाइएको प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद उपस्थित नभएपछि पुनः ४ बजेका सारिएको छ । 

आफ्नो पार्टीका नेता रेशम चौधरीको रिहाइ सुनिश्चित नभएको भन्दै नाउपाले यथास्थितिमै विश्वासको मत दिन नसकिने बताएपछि रावल नेतृत्वको गठबन्धन सरकार धरापमा छ । मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलको आज एक महिना हुँदैछ । 

सरकार गठनको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ । संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा ३ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यस अवधिमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके प्रदेश प्रमुखले प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।  

मुख्यमन्त्रीले विश्वासको मत नपाए ठूलो दलको हैसियले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुनेछन्। ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । प्रदेश सभामा माओवादीका सभामुखबाहेक १०, एमालेका १०, नाउपाका ७ र राप्रपाका एक गरी सत्ता पक्षमा २९ सदस्य छन् । 

नाउपाले मत नदिने भएपछि अब सत्ता पक्षमा त्यो संख्या २१ मा झरेको छ । जसले गर्दा प्रदेश सरकार अल्पमतमा पर्दैछ । प्रतिपक्षमा कांग्रेसका १९, एकीकृत समाजवादीका चार र एकजना स्वतन्त्र सांसद छन् ।   





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १४:४२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया