गुरुकुलका १० विद्यार्थी दीक्षित, आजदेखि ‘साँढे’ मञ्चन

आरोहण–गुरुकुल विराटनगरबाट नाट्य प्रशिक्षण लिएका १० विद्यार्थी दीक्षित भएका छन् । नेपाली रङ्गमञ्चको अग्रणी संस्था आरोहण–गुरुकुलले सञ्चालन गरेको २ वर्ष अवधिको आवासीय रङ्गमञ्चीय कला कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई आइतबार हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक समारोहकाबीच प्रमाणपत्र प्रदान गरिएको हो । 

नेपाली रंगमञ्चलाई व्यावसायिक बनाउने र गुरुकुल परम्परा अनुसार नाट्य अध्यापन गराउने गरेको आरोहणले २०७६ देखि कक्षा सञ्चालन गरेको थियो । अभिनय, संगीत, दृश्य कलासँगै रङ्गमञ्चका आधारभूत तत्वहरू, निर्देशन, रङ्गमञ्च र राजनीति, कचहरी नाटक लगायतबारे प्रशिक्षण लिई विद्यार्थीहरूले विभिन्न १० वटा नाटकमा काम गरेका थिए ।

७ नाट्य कार्यशाला, २ राष्ट्रिय तथा एक अन्तर्राष्ट्रिय र २ वटा विद्यालय नाटक महोत्सवमा विभिन्न जिम्मेवारी लिएर काम गरेका उनीहरूले अनेकौं सडक नाटकमा पनि अभिनय गरेका थिए ।

सोमबार दीक्षित हुनेहरूमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, अशोक गौतम, रविन चिमरिया, सागर विश्वास, समीक्षा दाहाल, प्रदीप दाहाल, अजय सुवेदी र राजेश ठाकुर छन् ।  

४ दशक बढी समयदेखि दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सव, सयौं नाटक मञ्चन गरेको आरोहणले काठमाडौं र विराटनगर शाखामार्फत आवासीय कक्षा सञ्चालन गरेर ६० भन्दा धेरै रंगकर्मी उत्पादन गरिसकेको छ । 

आजदेखि सुरु हुँदै ‘साँढे’



गुरुकुलले आजदेखि ‘साँढे’ मञ्चन सुरु गर्ने भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन गर्न लागिएको अध्यक्ष भैरव क्षेत्रीले बताए ।

साहित्यकार भिमनिधि तिवारीद्वारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ ।



२ सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ । 

कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समीक्षा दाहाल, रविन चिमरिया, प्रदीप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् ।

यस्तै, दीक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् ।

  • प्रकाशित मिति : फागुन १५, २०७९ साेमबार ९:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया