आर्थिक शोषण गरेको भन्दै मिटरब्याजी र लघुवित्तविरुद्ध पीडितहरू आन्दोलित

बिना धितो ऋण दिने प्रलोभनमा पारेर महिलाको चरम आर्थिक शोषण गरेको भन्दै जनकपुरधाममा मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध पीडितहरू आन्दोलित भएका छन् । 

विभिन्न प्रलोभन देखाई महिलालाई समूह गठन गरेर आर्थिक शोषण गरेको भन्दै मिटरब्याजी विरुद्धको संघर्ष समिति नेपालको आयोजनामा पीडितहरूले प्रदर्शन गरेका हुन् ।

ऋण लिँदा आर्कषक अफर भन्ने र पछि ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरी सञ्चालक रातारात करोडपति बनेको उनीहरूको आरोप छ । गाउँ बस्ती र सहर बजार जताततै महिला समूह गठन गर्दै बिनाधितो ऋण दिने प्रलोभनमा बचतको नाममा रकम लुटेर आफू मोटाउने र समुदायलाई कंगाल बनाउने गरेको पाइएकाले आन्दोलनमा उत्रिनु परेको उनीहरूको भनाइ छ ।

ऋण मिनाहाको माग गर्दै आक्रामक रुपमा आन्दोलनमा उत्रिएका उनीहरूले बिहीबार स्थानीय रंगभुमी मैदानबाट प्लेकार्डसहित विरोध प्रदर्शन गर्दै जिल्ला अदालत, उच्च अदालत, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका छन् । 

प्रदर्शनमा सहभागीहरूले सुदखोरहरूलाई गिरफ्तार गर्, तमसुक व्यवस्था खारेज गर्, मिटरब्याजीको सम्पति छानबिन गर्, पीडितको सम्पति फिर्ता गर्, मिटरब्याजीले गरेको यौन शोषणको छानबिन गरी दोषीलाई कारवाही गरलगायतका नाराहरू लगाएका छन् ।

विपन्न नागरिकको जीवन स्तर उकास्न भन्दै विना धितो समुहको जमानतमा ऋण दिने र पछि राष्ट्रबैंकले तोकेको भन्दा फरक गरी विभिन्न शीर्षकमा मोटो रकम असुल्ने गरेको बताएका छन् ।
आन्दोलनका अगुवा संघर्ष दाहालले मिटरब्याजी तथा लघुवित्त वित्तीय संस्थाहरू ५० हजार ऋण दिँदा सेवा शुल्कका नाममा ३ हजार सुरुमै लिने र ३६ प्रतिशतसम्म ब्याज असुल्ने गरेको गुनासो सुनाए । 



उनले भने,‘व्यापार व्यवसाय, उत्पादन र प्रर्वद्धनमा वार्षिक १५ प्रतिशत ब्याजमा बिना धितो ऋण दिन्छु भनेर आश्वसन दिन्छन । तर, पछि कारोबार गर्दै जाँदा ३६ प्रतिशतसम्म पुर्याउँछन् ।’ 



  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार १५:२५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया