logo-img

प्रेसमैत्री कानुन निर्माण गर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले नागरिक अधिकार, प्रेस स्वतन्त्रता, सूचनाको हक सुनिश्चितासहितको प्रेसमैत्री कानुन निर्माणको माग गरेको छ । 

नेपालको संविधान ०७२ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूत गरे पनि त्यसपछि गठन भएका तीनवटै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा ल्याउने सञ्चार सम्बद्ध कानुनहरू निर्माण नभएकोप्रति महासंघले गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ ।

महासंघ केन्द्रीय समितिको चैत्र १६ गते पश्चिम नवलपरासीको रामग्राममा सम्पन्न आठौँ बैठक र शुक्रबार रुपन्देहीको लुम्बिनीमा सम्पन्न ‘राष्ट्रिय मिडिया सम्मेलनपश्चात आज जारी नौबुँदे घोषणापत्रमा संविधानअनुसार बन्नुपर्ने सञ्चार सम्बद्ध निकायको गठन तथा पूर्णताका लागि पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।  

महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने सम्मेलनले प्रण गरेको छ । साथै पत्रकारितामा लामो समयदेखि क्रियाशील नभएका र अन्य पेसामा लागेकालाई सदस्यता परित्यागका लागि आग्रह गरिएको छ । 

श्रमजीवी पत्रकार ऐनलगायतका विद्यमान कानुनअनुसारका न्यूनतम पारिश्रमिक, सेवा सुविधालगायत प्राप्तिबाट श्रमजीवी पत्रकारहरू बञ्चित भइरहेको ठहर गर्दै सम्मेलनले ऐनको पूर्ण कार्यान्वयन, समय सापेक्ष न्यूनतम पारिश्रमिकको वृद्धि र तोकिएका सेवा सुविधाहरू पूर्ण कार्यान्वयनका लागि सरकार र सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ । सञ्चारमाध्यमको दिगो र भरपर्दो ढंगले सञ्चालन गर्नका लागि समानुपातिक विज्ञापन प्रणालीलाई तत्काल लागू गर्न माग गरिएको छ । 

सम्मेलनले पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दै पेशागत दक्षता अभिवृद्धि गर्न तालिम तथा वृत्तिविकासका लागि सञ्चालन गर्दै आएका कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाउने घोषणा गरेको छ ।   



गौतम बुद्धको जन्मस्थल लुम्बिनी, अस्तुधातूमध्येको एक अस्तुधातु रहेको नवलपरासीको रामग्राम, कपिलवस्तुको तिलौराकोट, बुद्धको मावलीस्थल देवदह क्षेत्रको प्रचारप्रसार, सम्वर्द्धन, संरक्षण र आवश्यक पूर्वाधार विकासका लागि लुम्बिनी बिकासको गुरुयोजना पूर्ण कार्यान्वयनका लागि सबै तहका सरकार तथा लुम्बिनी विकास कोषलाई सम्मेलनमार्फत आग्रह गरिएको छ ।  



  • प्रकाशित मिति : चैत १८, २०७९ शनिबार २१:१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया