मुस्ताङमा डेढ करोड लागतमा स्याउ संकलन तथा चिस्यान केन्द्र निर्माणको तयारी

मुस्ताङमा स्याउ संकलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रूपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि १ करोड ४१ लाख लागतमा संकलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।  

घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसिन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७९/८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट रु एक करोड ४१ लाख बिनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ । 

चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बालगायतका किसान लाभान्वित हुनेछन् । यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म कोल्ड स्टोर बनेका छैनन् ।

मुस्ताङमा  ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताए । यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका–१ छैरोका कृषक सिंहराज लामाले बताए ।

अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएको उनको भनाइ छ । बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ ।



ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए । रासस 



  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार ७:५६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया