logo-img

बैतडीको हल्दुविनायकमा भारतीय सुरक्षाकर्मीले एक वर्षदेखि चलाउन दिएका छैनन् डुंगा

बैतडीको तल्लोस्वराडस्थित नेपाल–भारत सीमा नदी महाकालीमा डुंगा सञ्चालन गर्न भारतीय पक्षले रोक लगाएको छ । पञ्चेश्वर गाउँपालिकास्थित हल्दुविनायक घाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले डुंगा सञ्चालनमा रोक लगाएको हो । 

यहाँका अन्य घाटमा सहजरूपमा डुंगा सञ्चालनमा भए पनि हल्दुविनायक घाटमा एसएसबीले एक वर्षदेखि अवरोध गर्दै आएको डुंगा चालक सुरेन्द्र चन्दले जानकारी दिए ।

पञ्चेश्वर गाउँपालिकाले महाकालीमा रहेका घाटहरूमा डुंगा सञ्चालनका लागि ठेक्का खोलेर सुरेन्द्रलाई अनुमति पाएको भए पनि भारतीय पक्षले अवरोध गर्दा समस्या भएको छ । 



गाउँपालिकाले ६६ हजार रुपैयाँ ठेक्कामा डुंगा चलाउने अनुमति दिए पनि एसएसबीले डुंगा चलाउन रोक लगाएको उनको भनाइ छ । 'महाकालीमा डुंगा चलाएरै जीवनयापन गर्दै आएको थिए । गत वर्षदेखि एसएसबीले डुंगा सञ्चालन गर्न नदिँदा रोजिरोटी नै बन्द भएको छ', उनले भने । 

एसएसबीले भारतीय प्रशासनको पनि अनुमति चाहिने भन्दै सञ्चालनमा अवरोध गरेको चन्दको भनाइ छ । डुंगा निर्माणका लागि एक लाख बढी र अनुमतिका लागि ६६ हजार रुपैयाँ खर्च भएको उनले बताए । 

भारतीय सीमा सुरक्षा बलको अवरोधबारे गाउँपालिकालाई पटक–पटक जानकारी गरिएको भए पनि कुनै सुनुवाइ नभएको चन्दको गुनासो छ । 'डुंगा चलाउनका लागि गाउँपालिकाले अनुमति दिएकाले पटक–पटक गाउँपालिकामा धाए पनि कुनै सुनुवाइ भएको छैन । भारतीय प्रशासनको अनुमति म कहाँबाट ल्याऊँ?', उनले भने ।



हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालनमा रोक लगाएकोबारे जिल्ला प्रशासन कार्यालयलाई खबर भइसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

गाउँपालिकाले ठेक्का खोलेका डिम्बर, देवताल, ढोया घाटमा सहजै डुंगा सञ्चालनमा छन् । उनले भने, 'अन्य घाटमा गाउँपालिकाको अनुमतिले डुंगा सञ्चालनमा छन्, हल्दुविनायक घाटमा अवरोधबारे जिल्ला प्रशासन लगायतका माथिल्ला निकायमा खबर गरिसकेका छौँ । तर समस्या समाधान हुन सकेको छैन ।'



हल्दुविनायक घाटमा एसएसबीले डुंगा सञ्चालन गर्न नदिएकोबारे भारतीय सुरक्षा निकायलाई जानकारी गराइसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । उनले भने, 'डुंगा सञ्चालनमा रोक लगाएकोबारे गाउँपालिकाले हामीलाई जानकारी गराएको थियो, हामीले पिथौरागढका जिल्ला अधिकारीलाई खबर गरिसकेका छौँ ।' 

पिथौरागढका सुरक्षा अधिकारीसँग चार/पाँचपटक डुंगा सञ्चालनमा रोक लगाएकोसम्बन्धी कुरा भएको र पत्राचारसमेत भएको प्रजिअ पन्थीले बताए । उनले भने, 'पटक–पटक फोन र पत्रचार गर्दासमेत समस्या समाधान हुन सकेको छैन, अब केही दिनमै सीमा समन्वय बैठकको तयारी छ, त्यसमा पनि कुरा गर्छौँ ।'

महाकाली नदीमा पुल नहुँदा तल्लोस्वराडका नागरिक डुंगामार्फत् ओहोरदोहोर गर्ने गरेका छन् । भारतीय बजार नजिक रहेकाले यहाँका नागरिक किनमेलका लागिसमेत पारि जाने गर्दछन् । तर डुंगा सञ्चालनमा रोक लगाउँदा समस्यामा परेका छन् । रासस   

  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १३:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया