logo-img

भक्तपुरमा खुला रूपमा मदिरा बिक्री वितरण गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय भक्तपुरले खुला रूपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । 

यही चैत २७ देखि सुरु भई वैशाख ५ सम्म सञ्चालन हुने जात्रा अवधिभर खुला रुपमा मदिराका कारण आपराधिक घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै मदिरा बिक्री वितरणमा रोक लगाइएको उनको भनाइ छ । 
    
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा भनिएको छ, ‘खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ ।’



जात्राको समयमा ढुंगामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृंखल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जानकारी दिँदै त्यस्ता गतिविधिमा नलाग्न उनले आह्वान गरे । जात्रामा तानिने भैरवको रथमा अधिकार प्राप्त र पोसाक लगाएका व्यक्ति वा पदाधिकारीबाहेक अन्यलाई नचढ्नसमेत उनले आग्रह गरेका छन् । 
    
त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्सोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुला रूपमा सेवन गर्न रोक लगाएको जानकारी दिए । 

जात्रालाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न आह्वान गर्दै मदिरा बिक्री वितरण गरेको पाइएमा कानुनबमोजिक कारबाही हुनेसमेत उनले बताए । 





  • प्रकाशित मिति : चैत २५, २०७९ शनिबार १९:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया