प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न प्रधानमन्त्रीलाई दबाब

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसहित कानून व्यवसायीहरूले प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्री पुष्पकमल दाहालालाई दबाब दिएका छन् । 

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाललाई भेटेर ध्यानाकर्षण गराउँदै सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएका हुन् । 

प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महशुस आफूहरुले गरेको बताए । उनले करिब १४ महिना कायममुकायम प्रधानन्यायाधीशबाट नै सर्वोच्च अदालत सञ्चलन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।

उनले प्रधानमन्त्री संवैधानिक परिषद्को अध्यक्ष भएकाले यसमा पहलकदमी लिन ध्यानाकर्षण गराएको बताए । उनले प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने प्रतिवद्धता दिएको बताए । प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया १० दिनभित्र सुरु नभए नेपाल बार आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिए । उनले प्रधानमन्त्रीसँगको भेटमा अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने र त्यसका लागि बजेट व्यवस्थापनको माग गरेको पनि बताए ।

‘हामीले प्रधानमन्त्रीलाई प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्दा कताकता न्यायपालिकाको साख गिरेको हो की भन्ने कुरा राख्यौँ । करिब १४ महिना यता प्रधानन्यायाधीशको नियुक्ति हुन नसक्नुले न्याय सम्पादनमा कठिनाइ भइरहेको कुरा राख्यौँ,’ उनले भने, ‘संवैधानिक परिषद्को अध्यक्ष भनेकै प्रधानमन्त्री हो, त्यसको नाताले पनि जे प्रयास गर्नुपर्छ, त्यसमा प्रयास गरिरहेको छु भन्नुभएको छ । ठोस निस्कर्षम पुग्नेगरी पहल गरिरहेको भन्नुभएको छ । १० दिनभित्र यो प्रक्रिया सुरु नभए बाध्य भएर आन्दोलनमा जान्छौँ भनेका छौँ । अदालतको पेसी व्यवस्थापन अटोमेसनको माध्यमबाट हुनुपर्ने, अटोमेटिक मिसिन सिस्टमबाट हुनुपर्ने भन्ने थियो, त्यो हुन नसकेको कारणले हामीले त्यसको बजेट व्यवस्थापन गर्न पनि आग्रह गरेका छौँ । त्यसमा उहाँ पोजेटिभ हुनुहुन्छ । यो हाम्रो दबाब नै हो, दबाबमुलक भेटघाट हो ।’



अध्यक्ष घिमिरेले न्यायपालिकामाथि आक्रमण भइरहेको भन्दै त्यसलाई कम गर्न कार्यपालिका र व्यवस्थापिकाले ध्यान दिनुपर्ने कुरा प्रधानमन्त्रीसँग राखेको पनि बताए । 



  • प्रकाशित मिति : चैत ३०, २०७९ बिहीबार १०:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया