logo-img

लुम्बिनी प्रदेश मुख्यमन्त्रीले ११ गते विश्वासको मत लिने

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले यही वैशाख ११ गते विश्वासको मत लिने भएका छन् । 

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले आज सूचना जारी गरी सभामुखले प्रदेशसभा नियमावली, २०७९ नियम १२ को उपनियम ३ बमोजिम वैशाख ११ गते बैठक आह्वान गरिएको जनाएका छन् । 

सोही बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने सरकारका प्रवक्ता तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलो पटक विश्वासको मत लिएका थिए । 



राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरणका कारण नेकपा (माओवादी केन्द्र) लगायतका दलले गत चैत १२ गते मुख्यमन्त्री गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् । 

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेशसभाका १० दलमध्ये आठ दल र एकजना स्वतन्त्रसमेत ५३ प्रदेशसभा सदस्यले कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

लुम्बिनी प्रदेशमा बहुमतका लागि ४४ सदस्यको मत चाहिन्छ । प्रदेशसभामा रहेको ८७ सदस्यमध्ये अहिले नेकपा (एमाले) का २९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार सदस्यले मात्रै सरकारलाई समर्थन गरेका छन् ।



एमालेले भने विश्वासको मत नपाए पनि ठूलो दलका हिसाबले संविधानको धारा १६८९३० अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको सरकारका प्रवक्ता मन्त्री आचार्यले बताए । 

विपक्षी गठबन्धनले भने १६८ (२) अनुसार बहुमत सांसदको समर्थन प्राप्त भएकाले नेपाली कांग्रेस संसदीय दलका नेता चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरेका छन् ।



  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार २०:३९:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया