स्थानीय पाठ्यक्रम लागू गर्न निजी स्कुलकाे अटेरी

काठमाडौंको मैतीदेवीमा रहेको सूर्याेदय सेकेन्डरी स्कुलले हालसम्म काठमाडौं महानगरपालिकाले जारी गरेको स्थानीय पाठ्यक्रम लागू गरेको छैन । स्कुलले संस्कृत भाषा पढाइरहेका कारण स्थानीय पाठ्यक्रमको पठनपाठन नगराएको जनाएको छ ।

त्यस्तै, अनामनगरमा रहेको नेपाल मेघा स्कुलले पनि स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याएको छैन । स्थानीय पाठ्यक्रम चालू शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरेको स्कुल प्रशासनले जनाएको छ । महानगरपालिकाको निर्देशनलाई लत्याएर स्थानीय पाठ्यक्रम लागू नगर्ने यी दुई स्कुल उदाहरण मात्र हुन् ।

महानगरले विसं २०७७/७/१६ गते सूचना प्रकाशन गरेर सबै विद्यालयलाई स्थानीय पाठ्यक्रम ‘नेपालभाषा’ लागू गर्न निर्देशन दिए पनि त्यसलाई अधिकांश निजी स्कुलले कार्यान्वयनमा ल्याएका छैनन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) काठमाडौं जिल्ला अध्यक्ष प्रेमकुमार राईले महानगरले जारी गरेको स्थानीय पाठ्यक्रम ‘नेपालभाषा’ यथास्थितिमा निजी स्कुलले पढाउन नसक्ने बताए । महानगरको उक्त पाठ्यक्रम नेवारी भाषा (नेपालभाषा)मा भएका कारण निजी विद्यालयहरूले लागू गर्न नसकेको उनले बताए ।

स्कुलमा विभिन्न भाषा, जाति, धर्म, संस्कृति भएका विद्यार्थीहरू अध्ययन गर्ने भएका कारण नेवारी भाषामा तयार गरिएको उक्त पाठ्यक्रम लागू गर्न नसकिएको उनको भनाइ छ । विद्यार्थीलाई अनिवार्य नेपाल भाषाको पाठ्यक्रम राख्दा समस्या हुने उनले बताए ।

उनले भने, ‘नेवार समुदायका बालबालिकालाई यो पाठ्यक्रम अध्ययन गर्न सहज होला तर अन्य समुदायबाट आएका विद्यार्थीहरूलाई गाह्रो हुन्छ ।’ उक्त विषय पढाउन नेवारी सभ्यतामा राम्रो ज्ञान भएको शिक्षक आवश्यक पर्ने र उक्त विषयका लागि छुट्टै शिक्षक राख्दा स्कुल र अभिभावकलाई थप आर्थिक भार थपिने उनले बताए ।



नेवारी सभ्यता बुझ्न नेवारी भाषाबाटै पढ्नुपर्ने आवश्यकता नरहेको बताउँदै उनले भने, ‘नेपाली भाषा (देवनागरी)बाट पनि हामी नेवारी संस्कृति, पहिचानका विषयमा ज्ञान प्राप्त गर्न सक्छौँ ।’

निजी विद्यालयले स्थानीय पाठ्यक्रम लागू गर्न महानगरपालिकाले ‘नेपालभाषा’को विकल्प दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘नेपाल भाषा पढाउन नसक्ने स्कुलले के पढाउने ? त्यसको विकल्प महानगरले दिनुपर्छ ।’ नेवारी संस्कृति झल्किने विषय नेपाली भाषामा तयार गर्दा सहज हुने उनको भनाइ छ ।



पाठ्यक्रम लागू गर्नुको विकल्प छैन : महानगर शिक्षा विभाग प्रमुख

काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले निजी विद्यालयले स्थानीय पाठ्यक्रम लागू गर्नुको विकल्प नरहेको बताए । चालू शैक्षिक सत्रबाट अनिर्वाय स्थानीय पाठ्यक्रम अध्यापन नगराए अन्य विषयलाई पनि मान्यता नदिने उनले बताए । उनले भने, ‘स्थानीय पाठ्यक्रमको अध्यापन नगराउन स्कुलको कक्षा ८ को परीक्षाफल मार्किङ गर्दैनौँ ।’

कोरोना संक्रमणका कारण केही शैक्षिक सत्र अस्तव्यस्त बनेकाले स्कुलहरूलाई नेपाल भाषा अध्यापनको लागि ताकेता गर्न गाह्रो भए पनि चालू शैक्षिक सत्रबाट भने पाठ्यक्रम लागू गराउन कडाइका साथ महानगर अनुगमन गर्ने उनको भनाइ छ । बारम्बार ताकेता गर्दा पनि स्थानीय पाठ्यक्रम अध्यापन नगराउने स्कुललाई कानुन बमोजिम कारबाही गरिने उनले बताए ।

नेपाल भाषा पढाउन सहज बनाउने उद्देश्यले निजी स्कुलका शिक्षकहरूलाई निःशुल्क तालिम दिने तयारीमा महानगर रहेको उनले बताए । उनले भने, ‘सहजताका लागि विभिन्न समूह बनाएर निःशुल्क तालिम दिने तयारीमा छौँ ।’

नेपाल भाषाको किताब नेपाल प्रज्ञा प्रतिष्ठानबाट किन्न पाइने जानकारी पनि महानगरले गराइसकेको उनले बताए । नयाँ शैक्षिक सत्रको अध्ययन सुरु भएपछि महानगरले स्थानीय पाठ्यक्रमको अध्यापन गराए/नगराएको अनुगमन गर्ने उनले बताए ।

उनले भने, ‘विद्यालय समयभित्र अनिवार्य रूपमा ‘नेपाल भाषा’को पढाइ भएको हुनुपर्छ । नभए कानुन बमोजिम कारबाही हुन्छ ।’ नेपाल भाषाको अध्यापन नगराउने स्कुलहरूलाई अन्य विषय पढाएको मान्यता पनि नदिने उनको भनाइ छ । नेपाल भाषा नपढाएर कोर्स पूरा नहुने भएका कारण पढाउनुको विकल्प नरहेको उनले बताए ।

महानगरको स्थानीय पाठ्यक्रम

महानगरले पहिलोपटक आफ्नो क्षेत्रको पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेको हो । महानगरको क्षेत्रभित्र रहेका सबै संस्थागत र सामुदायिक विद्यालयहरूका लागि कक्षा १ देखि ८ सम्म पठन–पाठन गराउन स्थानीय विषयको पाठ्यक्रम तयार गरेको छ ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार अधारभूत तह (कक्षा १ देखि ८ सम्म) को एक विषय स्थानीय तहले निर्माण गर्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार महानगरपालिकाले पनि स्थानीय पाठ्यक्रम तयार गरेको हो ।

महानगरले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, धर्म, संस्कृति, सीप, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर स्थानीय पाठ्यक्रम ‘नेवारी भाषामा’ तयार पारेको छ ।

महानगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णांकको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ । महानगरले कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि १०० पूर्णांकको प्रयोगात्मक पाठ्यक्रम राखेको छ ।

यसैगरी, कक्षा ४ र ५ का लागि ७५ पूर्णांकको प्रयोगात्मक र २५ पूर्णांकको सैद्धान्तिक पाठ्यक्रम राखिएको छ । कक्षा ६, ७ र ८ का लागि ५० पूर्णांकको सैद्धान्तिक र ५० पूर्णांकको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय ६४० वटा निजी स्कुल रहेका छन् । देशभरका ७५३ वटै स्थानीय तहले स्थानीय पाठ्यसामाग्री विकास गरी शैक्षिक वर्ष २०७७ देखि कार्यान्वयनमा ल्याउनु पर्ने भए पनि अधिकांश स्थानीय तहले अहिलेसम्म पाठ्यक्रम निर्माणसमेत गरेका छैनन् ।

  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १७:४३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया