logo-img

विवादबीच ‘सकम्बरी’लाई करोड ‘भ्युज’

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्युज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढीपटक हेरिएको हो ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर–हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् । 

कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।



गीतको सिर्जना र कला पक्षमाथि तर्क÷प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्युज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्युज पाउनेमध्येमा सकम्बरी परेको छ । 

गीतको रचना र संगीत पनि गायक सपुत आफैँले गरेका हुन् । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मिएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दै छन् ।



सो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदै छ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गरेका छन् । 



  • प्रकाशित मिति : वैशाख ७, २०८० बिहीबार २२:०:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया