\
नेपाल सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताएकी छन् ।
प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताइन् । ‘नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ’, उनले भनिन् ।
मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चार सम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताइन् । ‘सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पुर्याउन पहल भइरहेको छ ’, उनले भनिन् ।
मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको जानकारी दिइन् । सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उनको भनाई थियो ।
‘अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ, नागरिकलाई लाभ हुने आयोजनामा मात्र सरकारले ध्यान केन्द्रित छ’, उनले भनिन् । सङ्क्रमण कालीन न्यायलाई टुङ्गोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको मन्त्री शर्माले बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।