एमाले सांसद कोइरीको विषयमा संसदमा चर्का चर्की, बैठक ३० मिनेटका लागि स्थगन

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ ।बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको जानकारी गराएपछि सांसदहरुले आपत्ति जनाएका हुन् । 

सभामुखले कोइरी मिति २०७९ माघ २५ गतेदेखि २०८० वैशाख १५ गतेसम्म सम्मका  २१ वटा बैठकमा स्वास्थ्योपचारमा रहेका कारण अनुपस्थित रहेका सूचना जानकारी गराएका थिए । सभामुखको कुरालाई बिरोध जनाउदै सांसदहरुले संसद अवरोध गरेका थिए भने बैठक ३० मिनेटको लागि स्थगन समेत भएको थियो ।

विरोध जनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले फौजदारी अभियोग लागेको र प्रहरीको फरार सूचीमा रहेका कोइरीलाई सभामुखले बिरामी भन्नु जग हसाइको विषय भएको बताए । उनले कोइरी बिरामी भएर अनुपस्थित भएको भन्ने शब्द नै संसदको रेकर्डबाट हटाउन माग गरे । संसदले झुटो कुरा गर्नु नहुने उनको भनाई छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले कोइरी बिरामी नभइ फरार अभियुक्त भएको बताए । भारतमा प्रहरीले समातेको प्रमाण नै आफूसँग रहेको भन्दै उनले बिरामी भन्न नहुने बताए ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले फरार अभियुक्तलाई अभियुक्त भनेर सभामुखलाई जानकारी गराउन नसक्नु प्रधानमन्त्री, गृहमन्त्री र कार्यव्यवस्था परामर्श समितिको दोष भएको बताए ।

त्यस्तै एमाले सांसद रघुजी पन्तले एमाले सांसद कोइरीलाई लुकाउने पक्षमा नरहेको बताए । उनले सरकारले पक्राउ गर्न नसकेको तर संसदमा तमासा देखाइएको बताए । 



राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले कोइरीलाई बिरामी भन्नु लज्जास्पद कुरा भएको बताए । उनले ज्यानमारालाई चोख्याउन नमिल्ने भन्दै उनीमाथि कारबाही हुनुपर्ने बताए ।

नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हीतराज पाण्डेले सांसद कोइरीलाई बिरामी भन्नु नहुने र फरार अभियुक्तकै रुपमा लिनुपर्ने बताए । 



सभामुख देवराज घिमिरेले सांसद कोइरी फरार भएको कुनै आधार आफुकहाँ नआएको बताए । आफूले प्राप्त गरेको पत्र अनुसार बिरामी भएको सूचना सुनाइएको उनको भनाई छ ।

सभामुखले आगामी दिनमा सांसद कोइरीको विषयमा नेपालको संविधान र कानून बमोजिम कारबाही भएर जाने भएकाले सांसदहरुलाई पटक–पटक संसदको अवरोध खोल्न आग्रह गरेका थिए । सांसदहरु सभामुखको कुरा मान्न तयार नभएपछि संसद बैठक ३० मिनेटको लागि स्थगन भएको छ ।

  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार १७:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया