ए डिभिजन लिग : मनाङको खराब लय कायमै

राजधानीमा जारी सहीद स्माकर ए डिभिजन लिगमा आठपटकको च्याम्पियन मनाङ मस्र्याङ्दी फुटबल क्लबको खराब लय छैटौं खेलमा पनि कायमै रहेको छ । 

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा यसै सिजन बढुवा भएको टोली चर्च ब्वाईज युनाईटेडसँग ३–० गोल अन्तरले पराजित भएसँगै यस सिजन मनाङको खराब लय कायमै रहेको हो । यससँगै मनाङले छैठौं खेलमा पनि पराजय भोगको छ ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा चर्च ब्वाइजलाई जित दिलाउन अनन्त तामाङ, मौसम सुब्बा र साइमन लिम्बूले एक/एक गोल गरे । सबै गोल ४० मिनेटपछि मात्र सम्भव भएका हुन् । 

खेलको ४१ औं मिनेटमा चर्च ब्वाइजले कप्तान अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । सुशील शाहको क्रसमा कप्तान अनन्तले हेडरमार्फत गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । खेलको ५५ औं मिनेटमा मौसमले गोल गर्दै चर्च ब्वाइजलाई २–० को अग्रता दिलाएपछि खेलको इन्जुरी समयमा साइमनले गोल गर्दै चर्च ब्वाइजलाई ३–० को जित निश्चित गराएका हुन् ।

यससँगै जारी सिजन चर्च ब्वाइजले पाँचौं जित निकाल्न सफल भएको छ । चर्च ब्वाइजले १३ खेलमा २१ अंक जोडेको छ । मनाङ पहिलोपटक लगातार ६ खेलमा पराजित भएको हो । मनाङले १३ खेलमा १५ अंक जोडेको छ ।

यस्तै, खराब मौसमका कारण शनिबार स्थगित भएको आर्मी र हिमालयन शेर्पाको खेल शनिबारकै नतिजा १–१ मा टुंगिएको छ । यससँगै दुवै टोलीले १/१ अंक बाँडेका छन् । शनिवार स्थगित हुनुपूर्व नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५५ औं मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । 



शनिबार रोकिएको हिमालयन र आर्मीबीचको बाँकी खेल आइतबार भएको हो । यस बराबरीसँगै हिमालयनले १३ खेलमा १४ अंक जोडेको छ । आर्मीले १३ खेलमा २० अंक जोडेको छ ।
 



  • प्रकाशित मिति : वैशाख १७, २०८० आइतबार १९:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया