logo-img

नेपाल-भारत जमुनाहा नाका दुई दिन बन्द हुने

नेपाल-भारत जमुनाहा सीमानाका दुई दिन बन्द हुने भएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा यही वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो ।

मंगलबार राति १२ बजेदेखि २१ गते बेलुका ६ बजेसम्म  नाका पूर्णरुपमा बन्द गरिने जानकारी भारतीय सुरक्षा अधिकारीले दिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले बताए । यसको जानकारी नेपाली सुरक्षा निकायलाई पनि हुने उनले बताए । 

खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्नसक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमानाका बन्द गर्न लागिएको हो । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल, एसएसबीका स्थानीय अधिकारीबीच संयुक्त गस्तीका लागि छलफल भएको छ ।



नाका बन्द गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदननशीलताअनुसार काम गर्ने सहमति भएको छ ।  सीमा सिल गरिएको अवधिमा एम्बुलेन्स, बिहेजन्तीलगायत अत्यावश्यक सेवालाई दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आउन जान दिइने भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।

खुला सीमाका कारण अन्य नाकामा पनि विशेष निगरानी बढाइएको जनाउँदै सशस्त्र प्रहरीको बागेश्वरी ३० नम्बर गणले ती क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

यसैगरी वैशाख १९ गतेबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगत लामो समयदेखि सीमानाका बन्द हुँदै आएको छ ।  





  • प्रकाशित मिति : वैशाख १८, २०८० साेमबार १०:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया