जब गुरुसँगै एउटै चितामा अस्ताए रामचन्द्र...

हाम्रो संस्कृतिमा गुरु–शिष्य परम्परा प्रतिष्ठित मानिन्छ । हामी सम्पूर्ण ज्ञान यसै परम्पराको माध्यमले प्राप्त गर्दै एकबाट अर्को पिढीमा हस्तान्तरित गरेका छौँ । चाहे त्यो शैक्षणिक ज्ञान होस् अथवा व्यवहारिक । हामी गुरु–शिष्य परम्परालाई अझै पनि जीवित राखेका छौँ । यसको पछिल्लो उदाहरण हो तलको यो घटना । 

गत सोमबार सिरहाको सुखीपुर नगरपालिका–२ छजनास्थित हनुमान मन्दिरमा बस्दै आएका १२२ वर्षीय साधु विष्णु दासको मृत्यु भयो । उनको मृत्युपश्चात् शवलाई दाहसंस्कारका लागि भारतको सीमावर्ती दशगजा पारी मधुवनीको लक्ष्मीनियाँ गाउँमा लगियो । साधु दासको शवलाई सयौंको सहभागिताकाबीच अन्तिम संस्कार गर्न सुरु गरियो । उनको चित्ता दनदनी जलिरहेको थियो । त्यतिकैमा अचानक एक पुरुष साधु जलिरहेको चितामा हामफाले । 

घटनाबारे बुझ्दै जाँदा चितामा हामफालेका व्यक्ति थिए मृतक साधुका शिष्य भारतको लक्ष्मीनियाँ गाउँ बस्ने ५५ वर्षीय रामचन्द्र महतो । रामचन्द्रले आफ्नो गुरुको मृत्यु भएको पीडा सहन नसकेर उनीसँगै आफूलाई पनि सोही चितामा जलाएर आत्मदाह गरेको स्थानीयको भनाइ छ । 

सिरहाको बरियारपट्टी गाउँपालिकाको गरगम्मा र भारत विहार राज्यको मधुवनी जिल्लामा पर्ने लक्ष्मीनियाँ गाउँको बीचमा गुरुको दाहसंस्कार भइरहेको बेला यस्तो घटना भएको सुखीपुर नगरपालिका वडा नम्बर–८ का लक्ष्मण साहले बताए ।

उनले भने, ‘साधुको शव जलिरहेकै बेला उनका शिष्य रामचन्द्र आगोमा कुदे । उनलाई तत्कालै तान्न सकिएन र उनको मृत्यु भयो ।’ 

बरियारपट्टीमा भएको विष्णु महायज्ञमा सहभागी हुन पुगेका साधु दास विगत केही दिनदेखि ६ जनाको हनुमान मन्दिरमा आश्रय लिएर बसिरहेका थिए । धनुषाको सबैला नगरपालिका–९ कोल्हुवामोड घर भएका उनी त्यस क्षेत्रका प्रसिद्ध साधु रहेको र जगजाप गराउँदै हिड्ने गरेका थिए ।



आत्मदाह गरेका रामचन्द्र पनि विगत लामोसमयदेखि साधुसँग बसिरहेका थिए । साधुको चितामा हाम फालेर आत्मदाह गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सिरहाका प्रहरी उपरीक्षक डेकुनन्दन इवालिम्बुले अन्त्येष्टी सीमा भन्दा ७ सय मिटर दक्षिण लक्ष्मीनिया गाउँमा भएकाले प्रहरीसँग यसबारे रेकर्ड नरहेको बताए । 



  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार १८:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया