‘जनकपुरधाम मेयर कप’ का विजेताले अझै पाएनन् पुरस्कार रकम

जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको संयोजनमा  गत वैशाख १ गते सम्पन्न प्रदेश स्तरीय ‘जनकपुरधाम मेयर कप–२०७९’ क्रिकेट प्रतियोगिताका विजेताले पुरस्कार रकम अझै पाउन सकेका छैनन् । 

प्रतियोगिता सम्पन्न भएको करिब एक महिना पुग्न लाग्दा पनि पुरस्कार रकम वितरण गर्न आयोजकले ढिलाई गरेको हो । गत १ वैशाखमा जनकपुरधाम–१४ रजौलस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा भएको प्रतियोगिताको फाइनल खेलमा बारालाई ५ विकेटले पराजित गर्दै जनकपुरधामको क्रिकेट टिमले उपाधि जितेको थियो ।

त्यसअनुसार विजेता जनकपुरधामले २ लाख ५१ हजार र उपविजेता बाराले १ लाख ५१ हजार एवम् ट्रफि जितेको घोषणा गरियो । तर, प्रतियोगिता सकिएको २८ दिन बितिसक्दासमेत विजेता टोलीले पुरस्कार रकम पाएका छैनन् । पुरस्कार रकम माग्न जाँदा विभिन्न बहाना मात्रै सुनेर फर्किनुपरेको खेलाडीले गुनासो पोख्छन् ।

‘आज दिउँला, भोलि दिउँला भन्दाभन्दै एक महिना बित्न लागिसक्यो । पुरस्कार रकम माग्न जाँदा पैसा उठेको छैन, यसले पैसा दिएन जस्ता बहाना मात्रै सुन्नुपर्छ,’ एक खेलाडीले भने, ‘कसले पैसा दियो–दिएन भन्ने हामीलाई सरोकार नै भएन । आयोजकले दिन्छु भनेको पुरस्कार रकम समयमै दिनुपर्ने हो । हामी बडो उत्साहका साथ प्रतियोगिता खेल्न गएका थियौँ । त्यही रकम पनि समयमै नपाउनु दुःखद हो ।’

प्रतियोगिताका संयोजक सरोज मिश्रले आयोजक उपमहानगरबाट आउनुपर्ने रकम पूरा आइनसकेकाले पुरस्कार रकम दिन नसकिएको बताए । ‘प्रतियोगिता सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले १५ लाख रूपैयाँ दिने भनेको हो । त्यसमध्ये पहिलो किस्तामा करिब १२ लाख ल्याएर खर्च पनि भइसकेको छ,’ मिश्रले भने, ‘बाँकी रकम अझै आउनै बाँकी छ । रकमका लागि हामी पनि लागिपरेका छौँ । तर, केही प्रक्रिया बाँकी रहेकाले आइसकेको छैन । यही रकम रोकिँदा पुरस्कार रकम दिन ढिला भएको हो ।’ 

उनले फ्याक्ट नेपालले १० लाख बराबरको सहयोग गर्ने भने पनि करिब साढे ४ लाख बराबरको ड्रेस मात्रै सहयोग गरेको बताए । प्रतियोगितामा कूल २७ लाख रुपैयाँ खर्च भएकोले थप रकम अपुग भएको मिश्रको भनाइ छ । 



प्रतियोगिता आयोजनाका लागि मोडेल क्याम्पसले ६० हजार, एनएमबी बैंक, नविल बैंक र मुक्तिनाथ विकास बैंकलगायतकाले ५०/५० को दरले आर्थिक सहयोग गरेको थियो ।  यता, नगरप्रमुख मनोजकुमार साहले प्रतियोगिताको विजेता टिमले पुरस्कार रकम नपाएको बारे आफूलाई कुनै जानकारी नरहेको बताए । उनले भने, ‘विजेता टिमले पुरस्कार रकम अहिलेसम्म पाएको छैन भन्ने कुराको जानकारी मैले तपाईंबाटै जानकारी पाएँ । अहिलेसम्म मलाई यसबारे अन्य कसैले जानकारी दिएका थिएनन् ।’

उनले उपमहानगरले भने प्रतियोगिताको संयोजन गरेको जिल्ला क्रिकेट संघ धनुषाको खातामा करिब १२ लाख रुपैयाँ पठाइसकेको जानकारी दिए । अन्य खर्चहरुलाई कटौति गरेर भए पनि विजेता टिमलाई यथा शीघ्र पुरस्कार रकम दिनुपर्ने उनले बताए । 



लिगकम नकआउट आधारमा चैत २३ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन गरिएको सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको थियो । मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्साका टिमका साथै कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका टिम पनि प्रतियोगितामा सहभागी थिए ।
 

  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार २१:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया