जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

मधेस प्रदेश राजधानी धनुषाको जनकपुरधाममा रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यवस्थापनका लागि व्यापारीहरूले स्थानीय प्रशासनसँग माग गरेका छन् ।

जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा आज प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई अनुरोध पत्र बुझाउँदै व्यापारीहरूले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भए पनि चाँडै व्यापार, व्यवसाय बन्द गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती हुनका साथै व्यापार व्यवसायमा समेत नकारात्मक प्रभाव परेको भन्दै रात्रिकालीन व्यापार सञ्चालनको व्यवस्था मिलाउन माग गरेका हुन् । 

संघका अध्यक्ष जितेन्द्रकुमार महासेठले भारतसँगको खुला सीमा, प्रादेशिक प्रशासनिक एवं धार्मिक क्षेत्र भएकाले दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गए पनि चाँडै बजार बन्द गर्दा नकारात्मक प्रभाव पर्नका साथै व्यापार व्यवसायमा समेत असर परेकाले कम्तीमा राति १२ बजेसम्म बजार खुला रहने व्यवस्था गर्न आग्रह गरिएको बताए । 

“भारतीय सीमाबाट राति १० बजेसम्म पनि प्रवेश दिइन्छ तर जनकपुरधाम आउँदा बस्ने बास र खाने गाँसको पनि कठिनाइ हुन्छ । जसले गर्दा यहाँ आउन हच्किने अवस्था छ”, महासेठले भने, “त्यसैले जनकपुरधाम उपमहानगरका मुख्यबजार क्षेत्रमा कम्तीमा १२ बजेसम्म सबै व्यापार, व्यवसाय खोली रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने र त्यसको सुरक्षा प्रबन्ध सरकारले मिलाउनुपर्ने हाम्रो आग्रह छ ।” 

संघका महासचिव मनोजकुमार साहले प्रदेश राजधानी तथा ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सहर भएकाले पनि रात्रिकालीन व्यवसाय सञ्चालन गरी सहजता प्रदान गर्न आग्रह गरे ।

जवाफमा प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानी र सहजीकरणका लागि सुरक्षा निकायसहितको छलफलपछि आवश्यक निर्णय लिइने बताए । 



उनले जनकपुरधामको बजारलाई चलायमान बनाउन र यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको सहजतालाई दृष्टिगत गरी आवश्यक छलफल र अध्ययनपछि व्यापारीहरूको मागलाई सम्बोधन गरिने प्रतिबद्धता गरे ।  



  • प्रकाशित मिति : वैशाख २९, २०८० शुक्रबार २१:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया