logo-img

१० दिन पोखरामा लुकेर काठमाडौं आएको भोलिपल्टै पक्राउ परे टोपबहादुर
बूढानीलकण्ठमा टोपबहादुरलाई लुकाउने अर्घाखाँचीका उनकै कार्यकर्ता

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित एक कार्यकर्ताको घरबाट पक्राउ परेका छन् । 

११ दिनअघिदेखि फरार उनी अर्घाखाँचीकै एक व्यक्तिको घरबाट आइतबार साँझ पक्राउ परेका हुन् । उनलाई जिल्लावासीले नै लुकाएर राखेको पाइएको र ती व्यक्ति उनकै कार्यकर्ता भएको बुझिएको प्रहरी स्रोतको भनाइ छ । 

प्रहरी उच्चस्रोतका अनुसार उनी १० दिनसम्म पोखरामा लुकेर बसेका थिए । हिजो मात्रै उनी पोखराबाट स्थलमार्ग हुँदै काठमाडौं आइपुगेका थिए ।



रायमाझीले केही दिनअघि आफू बिरामी रहेको भन्दै संसदमा पत्र पठाएका थिए। रायमाझीको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजी गर्दै प्रहरीले शनिबारदेखि उनलाई नै ट्रयाक गरेको थियो।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग गर्छु भन्दै रायमाझी भागेका थिए। अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी वैशाख २० गते साँझ फरार भएका थिए। 

उनलाई पक्राउ गर्न प्रहरीले देशभरका युनिटमा सर्कुलर गरेको थियो। भारत भागेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि परिचालन गरिएको थियो।



टोपबहादुर पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ जना पुगेको छ । अझै तीनजना फरार छन् । 

यसअघि पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परिसकेका छन् । 



  • प्रकाशित मिति : वैशाख ३१, २०८० आइतबार २३:०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया