चारजनाको ज्यान जानेगरी वनमा आगो लगाउने चारजना पक्राउ
फाइल तस्बिर

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो। आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। 
   
जंगली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो। गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो। आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचार भइरहेको छ। 

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलछेक्‍र्याइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीअगाडि बढाएको प्रहरीले जनाएको छ। 

उक्त नियममा छ महिनादेखि दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ। अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ। 





  • प्रकाशित मिति : जेठ ३, २०८० बुधबार ७:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया