सुत्केरी बिदा बढेपछि पूर्ण स्तनपान दर पनि बढ्ला ?

नेपालमा स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गएको कारण देखाउँदै  सरकारले कर्मचारीको हकमा सुत्केरी बिदा ६ महिना दिने तयारी थालेको छ । अहिले ९८ दिन सुत्केरी बिदाको सुविधा सरकारले दिँदै आएको छ ।

स्वास्थ्य विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गर्दा थप तीन महिना बिदा दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिस गरेको थियो । सोहीअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ को उपदफा (१) संशोधन गर्नका लागि आवश्यक राय सुझावका लागि कानुन मन्त्रालय पठाएको छ । 

कानुन मन्त्रालयले एक महिनाभित्र अन्तिम मस्यौदा तयार पारेपछि मन्त्रिपरिषद्को स्वीकृत हुँदै संसदबाट पारित भएपछि लागू हुनेछ ।

नेपालमा घट्दै पूर्ण स्तनपान 

नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई एक प्रमुख आधार बनाउँदै सन् २०३० सम्म स्तनपान गराउनेको सङ्ख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक पाँच वर्षमा गर्ने सर्वेक्षणमा पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या घटेको देखाएको छ ।

हालसम्म विभिन्न अन्तरालमा मन्त्रालयले गरेका सर्वेक्षणलाई हेर्ने हो भने नेपालमा पूर्ण स्तनपान गराउने दर सन् १९९६ मा सबैभन्दा धेरै छ । जति बेला पूर्ण स्तनपान गराउने दर ७५ प्रतिशत थियो । तर, सन् २००१ मा यो दर घटेर ६८ प्रतिशतमा झरेको तथ्याङ्कले देखाएको छ ।



यस्तै, सन् २००६ मा अझै घटेर ५३ प्रतिशत पुगेको देखाएको छ । सन् २०११ मा भने यो दर बढेर ७० प्रतिशत पुगेको थियो । यसै गरी २०१६ मा पूर्ण स्तनपान गराउनेको सङ्ख्या ६६ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । तर, सन् २०२२ मा सार्वजनिक गरिएको सर्वेक्षणको प्रारम्भिक रिपोर्टले पूर्ण स्तनपान गराउनेको सङ्ख्या सन् २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ । यो सर्वेक्षणले नेपालमा ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउने गरेको देखाएको छ ।

किन घट्यो पूर्ण स्तनपान ?



सुत्केरी बिदा ३ महिनाबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्ताव जायज भएको स्वास्थ्य विशेषज्ञहरू बताउँछन् ।

‘पहिलेको तुलनामा हाल धेरैजसो महिला रोजगारीमा जान्छन् । रोजगार गरिरहँदा मानिसको निजी जीवन पनि अगाडि बढिरहेको हुन्छ । जसमध्ये बच्चा जन्माउनु पनि एउटी महिलाको लागि महत्त्वपूर्ण काम हो,’ पोषणविद् बबिता अधिकारीको तर्क छ,‘एउटी सुत्केरी महिलालाई तीन महिनाले मात्रै पुग्दैन । त्यसमाथि रोजगारी गरिरहेकी महिलालाई तीन महिना अवधि एकदमै कम हो ।’

‘सुत्केरी अवस्थामा घर, परिवार, कार्यालयबाट जुन सहयोग मिल्नुपर्ने हो, त्यो सहयोगबाट धेरै महिला वञ्चित भएको पाइन्छ । सुत्केरी बिदा ६ महिना दिने सरकारको तयारी एकदमै सराहनीय काम हो,’ पोषणविद् अधिकारीको बुझाइ छ,‘आमासँग बच्चालाई दिने पर्याप्त समय भएपछि आमा र बच्चा दुबैलाई फाइदा पुग्छ ।’ 
 
पोषणविद् अधिकारीका अनुसार स्तनपानले वार्षिक ८० हजार बालबालिकाको मृत्युदर कम भएको विभिन्न तथ्याङ्कले देखाएको छ । आमाको दूध नै सबैभन्दा उत्तम आहार हो । बालबालिकालाई आमासँग २४ घण्टा बिताउन दिनु भनेको उनीहरूको मानसिक स्वास्थ्यमा पनि विकास हुनु हो । त्यसैले सुत्केरी बिदा तीन महिनाबाट ६ महिना बनाउने कुरा व्यवहारिक र अपरिहार्य भएको उनको तर्क छ । 

बच्चालाई स्तनपान गराउने समय नहुँदा हिजोआज प्रायः बालबालिकालाई बजारमा पाइने बट्टाको दूध खुवाउने प्रचलन बढ्दै गएको छ । स्वास्थ्यका दृष्टिकोणले बट्टाको दूधको प्रयोगले आमा, बच्चालाई नकारात्मक असर पुराउनुको साथै आर्थिक भार पनि थपिरहेको पोषणविद् अधिकारीको भनाइ छ । ‘बच्चालाई स्तनपान गराउने समय अभावका कारण धेरै आमाहरू बजारमा पाइने बट्टाको दूधतिर आकर्षित भएको पाइन्छ,’ उनी सुनाउँछिन्, ‘तर यसले बच्चाको स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ । यससँगै आर्थिक भार पनि थपिरहेको छ । पाँच वर्ष मुनिका बालबालिकाको मानसिक तथा शारीरिक विकासका लागि पूर्ण स्तनपान अत्यन्त आवश्यक छ ।’ 

बढ्छ त पूर्ण स्तनपान दर ? 

बच्चा जन्मिएपछि जति सक्दो चाँडो स्तनपान गराउनुपर्ने विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार बच्चा जन्मिएपछिको पहिलो आउने दूधले पहिलो खोपको काम गर्छ । यस्तो दूधमा प्रशस्त मात्रामा ‘इम्युनोग्लोबिन’ (रोग प्रतिरोधात्मक क्षमता) हुँदा बच्चामा रोगसँग लड्न सक्ने शक्तिको विकास हुन्छ ।

परिवार कल्याण महाशाखा अन्तर्गतको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. गौरी श्रेष्ठ पछिल्ला वर्षमा अधिकांश महिला घरबाहिर नै काम गर्न जाने हुँदा पर्याप्त मात्रामा बालबालिकालाई स्तनपान गराउन नसकेका कारण स्तनपानको दर घट्दै गइरहेको बताउँछिन् । सरकारले महिलालाई आवश्यक बिदा दिएको अवस्थामा स्तनपानको दर बढ्ने आकलन गरिएको उनको भनाइ छ ।

‘सरकारले महिलालाई ९८ दिन सुत्केरी बिदा दिँदै आएको छ, जुन पर्याप्त छैन,’ डा. श्रेष्ठ भन्छिन्, ‘अहिले धेरै महिला कामका लागि घर बाहिर जाने हुँदा आमाको दूधको विकल्पमा बजारमा पाइने बट्टाको दूध वा लिटो खुवाउने प्रचलन बढ्दै गएको छ । तर, बच्चालाई चाहिने पोषकतत्व अन्य वस्तुबाट पाइँदैन । जबसम्म आमालाई ६ महिना बिदा दिने प्रावधान हुँदैन, तबसम्म स्तनपानको दर बढ्दैन ।’ त्यसैले आमालाई स्तनपान गराउनका लागि अनिवार्यरूपमा ६ महिना बिदा दिने प्रस्ताव राखेको उनले जनाइन् । 

सुत्केरीलाई ६ महिनासम्म बिदा दिने हो भने स्तनपान गराउने दर बढ्न सक्ने अनुमान गरिएको भए पनि पूर्ण स्तनपान दर बढ्छ भन्ने अवस्था भने नभएको बालरोग विशेषज्ञ डा. रामहरी चापागाईं बताउँछन् ।

‘नेपालमा ५६ प्रतिशतले पूर्ण स्तनपान नगराएको पाइएको छ । यसमा सबै महिला कामकाजी नहुन सक्छन्,’ डा. चापागाईँ भन्छन्, ‘सरकारी जागिर भएका महिलाहरू आफूले चाहेको खण्डमा ३ महिना तलब लिएर र बच्चाको स्याहार गर्न थप ३ महिना बेतलबी बिदा बसेको पाइन्छ । तर, ज्याला मजदुरी, व्यावसाय गर्ने सुत्केरीका लागि ६ महिना बिदा लागू हुन मुस्किल पर्न सक्छ ।’

‘पछिल्लो समय पूर्ण स्तनपान दर घट्दै गइरहेको छ । किन घटिरहेको छ ? भन्ने तथ्य पत्ता लगाउन आवश्यक छ । ६ महिना दिइने सुत्केरी बिदाले पूर्ण स्तनपान दर अलिकति बढ्न सक्छ । तर, के कारणले स्तनपान दर घटिरहेको छ, अन्य पाटोहरू पनि खोतल्न आवश्यक छ,’ डा. चापागाईँको निष्कर्ष छ । 

तर बिर्सन नहुने कुरा के हो भने बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भए पनि पछिल्लो समय धेरैले बालबालिकालाई बजारमा पाइने बट्टाको दूध खुवाउनेको सङ्ख्या बढ्दै गइरहेको छ । 

  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार २०:३१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया