धनुषामा झुण्डिएको अवस्थामा महिला मृत फेला, दाइजोका कारण हत्या गरिएको माइती पक्षको आरोप

धनुषामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन् । मृतकका माइती पक्षले उनकाे दाइजोका कारण हत्या गरिएको आरोप लगाएको छ । 

जिल्लाको नगराइन नगरपालिका–८ खिरखिरिया बस्ने विनोद प्रसाद साहकी २२ वर्षीया छोरी आरतीकुमारी साह 
मृत भेटिएकी हुन् । उनका श्रीमान् मोतीबाबु साह, ससुरा मदनमोहन साह, सासू रेणुदेवी साह र देवर रवि साह मिलेर हत्या गरेको मृतकका बुबा विनोदप्रसाद साहले आरोप लगाए । 

करिब दुई वर्षअघि २५ लाख नगद दिएर आरतीको विवाह मोतीबाबुसँग गरेको मृतकका बुबा विनोदले बताए । यसअघि पनि आफ्ना छोरीलाई उनका श्रीमान्, ससुरा र सासू मिलेर थप दाइजो माग गर्दै आएको विनोदकाे दाबी छ । उनले भने, ‘दहेजको थप रकम नदिदाँ पटक पटक आरतीलाई उनीहरुले कुटपिट गर्दै शारीरिक र मानसिक तनाव दिँदै आएका थिए ।’

‘छोरीलाई कुटपिट गरेको देख्दा मैले धेरैपटक रकम पनि दिएँ,' उनले भने, ‘आइतबार उसको श्रीमान्, ससुरा, सासू र देवर मिलेर कुटपिट गर्नुका साथै घाँटी थिचेर हत्या गरेका हुन् ।’

स्थानीयवासीलाई उद्धृत गर्दै मृतकका बुबा विनोदले भने, ‘घाँटी थिचेपछि आरती कराएकी थिइन्, त्यसपछि टोलका मानिसहरु भेला हुन थालेपछि आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै नाटक गरियो ।’

उनले विगतमा पनि पटक–पटक थप दहेजका लागि आरतीलाई उनीहरुले दबाब र कुटपिट गर्दै आएको दाबी गरे । १२ दिनअघि मात्र आरतीलाई माइतीबाट बोलाएर लगेको र आइतबार साँझ पुनः दहेजकै रकमका लागि उनको टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरी घाँटी थिचेर हत्या गरेको विनोदको आरोप छ । 



आरतीका ससुरा, श्रीमान् र सासूले पोल खुल्ने डरले मृत शरीर नै काव्या अस्पतालमा उपचारका लागि लगेको उनको दाबी छ । उनले आरतीले झुण्डेर आत्महत्या गर्यो भन्दै आफूलाई साँझ फोन गरेर जानकारी गराइए पनि घटना भने दिउँसै घटाइएको जिकिरसमेत गरेका छन् । 

उनले मोतीबाबुको काठमाडौंमा अर्कै केटीसँग सम्बन्ध रहेको र आरतीलाई सोबारे जानकारी हुँदा पटक–पटक उनीहरुबीच मनमुटावसमेत हुँदै आएको बताए । विनोदले मोतीबाबुको बानी व्यहोराबारे आफूहरुले विवाह भएपश्चात् जानकारी पाएको र विवाहको बेला आफूहरुलाई केटा इन्जिनियर छ भन्दै छोरीको विवाह गरिए पनि उनी भने ब्रोकरको काम गर्दै आएको कुरा आफूहरुले पछिबाट थाहा पाएको बताए ।
 
यता, मृतकका श्रीमान मोतीबाबु साहले आइतबार आरतीको स्वास्थ्य अवस्था खराब रहेकोले उनी मध्याह्न १२ बजेसम्म बेडमै रहेको सुनाए । आइतबार आरतीलाई सञ्चो नभएकाले उनी सुतेर १२ बजे मात्रै उठेकाे र उठेपछि उनलाई खाना खान आग्रह गर्दा उल्टै आफूलाई नै गाली गर्न थालेपछि आवेशमा आएर एक झापड हिर्काएकाे श्रीमान् माेतीकाे दाबी छ । 'त्यसपछि म घरबाट निस्किहालेँ । साँझ घर जाँदा आरतीलाई खोजेँ । पछि मैले कोठाको चुकुल भित्रबाट बन्द भएको बुझेँ,'उनले भने, 'बाहिरबाट धेरैपटक हल्ला गर्दा पनि नसुनेपछि अन्त्यमा ढोका तोडेर हेर्दा आरती पंखामा झुण्डेर आत्महत्या गरेकी थिइन् । म अक्क न बक्क भएँ ।’



यता, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए । उनले भने, ‘पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र आत्महत्या वा हत्या भन्न सकिन्छ । यसका लागि प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ ।’ 

यसैबीच, प्रहरीले मृतकका श्रीमान मोतीबाबु र ससुरा मदन मोहन साहलाई नियन्त्रणमा लिएको बताइएको छ ।

  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १८:२९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया