logo-img

मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तारमा अन्योल, ६ दलीय गठबन्धन बैठक निष्कर्षविहीन

मधेस प्रदेशमा मन्त्रिपरिषद विस्तारका लागि बसेको ६ दलीय सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहिन टुंगिएको छ । 

मधेस सरकारमा मन्त्रालय भागबण्डालगायत अन्य समसामयिक विषयमा छलफल गर्न सोमबार ६ दलीय सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा मन्त्रिपरिषद विस्तारको विषयमा छलफल भए पनि निष्कर्ष निस्कन नसकेको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको संसदीय दलका नेता अभिराम शर्माले जानकारी दिए । 

उनले गठबन्धन दलहरुबीच बैठक बसे पनि सोमबार कुनै ठोस निष्कर्ष ननिस्केको बताए । बैठकमा सरकारमा लोसपा, नेकपा एस र नेपाली कांग्रेसको सहभागिताबारे छलफल भए पनि निर्णय भने हुन नसकेको जानकारी दिए । 

नेता शर्माले मन्त्रीपरिषद विस्तार, सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटलाई जनतामुखी बनाउने विषयबारे गठबन्धन दलका नेताबीच गम्भीर छलफल भएको बताए । मंगलबार पुनः बैठक बसेर प्रदेश सरकार विस्तार एवं मन्त्रालय बाँडफाँडबारे छलफल हुने उनले बताए ।

गत चैत २२ गते नेकपा एमालेले मधेस प्रदेश सरकार छाडेसँगै चारवटा मन्त्रालय खाली छ । जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय लिएको छ भने जनमत पार्टीले दुई र माओवादी केन्द्रले एउटा मन्त्रालय लिएको छ ।



मधेस प्रदेशमा वर्तमान जसपा नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएको थियो । गत शुक्रबार बालुवाटारमा सत्तारुढ दलहरुबीचको छलफलमा आलोपालो प्रणालीअनुसार तत्काल सरोजकुमार यादव नेतृत्वको सरकारलाई नै निरन्तरता दिने सहमति भएको थियो ।

वैशाख १० को उपचुनावअघि भएको सहमतिअनुसार सत्तारुढ गठबन्धनका दलहरुले जसपालाई मुख्यमन्त्री छाड्न दबाब दिइरहेका थिए । तर, जसपाले आफ्नो अडान कायम राख्दै मुख्यमन्त्री छाड्न नचाहेको र यादव नेतृत्वकै सरकारमा आउन अन्य दललाई पनि प्रस्ताव गरेको थियो ।



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार २१:५६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया