पूर्वराजा शाहको सक्रियताप्रति कुन नेताले के टिप्पणी गरे ?

नेकपा(एमाले)का सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले यस्ताे चेतावनी दिएका हुन् । 

एउटा प्रक्रियाबाट राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै उनले राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए । राजाले शान्तिपूर्ण रुपले गद्दी छाडेको र दलहरुले पनि कुनै बदला नलिई शाहलाई देशले पूर्वराष्ट्राध्यक्षको रुपमा सम्मान र सुरक्षा दिएको उल्लेख गरे । 

राज्यले दिएको सम्मानको पूर्वराजाले कदर गर्नुपर्ने बताउँदै पन्तले भने, 'अन्त धेरै ठाउँमा क्रान्ति भएको ठाउँमा राजतन्त्र समुल पारेका छन् । राजा भूतपूर्व राष्ट्राध्यक्षको रुपमा शान्तिपूर्ण ढंगले उहाँको कुनै सम्पति पनि खोसिएको छैन । उहाँले कसरी कमाउनुभएको छ भनेर खोजीनीति पनि गरिएको छैन । त्यसको राजाले कदर गर्नुपर्याे ।'

राजनीति गर्न संविधानले नरोकेको उल्लेख गर्दै उनले भने,'राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भइहाल्यो ।’

त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताए । दलहरुको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले स्पष्ट पारे । ​गणतन्त्रात्मक व्यवस्था फेल नभएको दाबी गर्दै उनले भने, ‘हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बीचबाट एउटा सम्वाद निकालेर जान्छौँ भनेको हो । गन्थनमन्थन गर्दै छौँ ।' 

हिजो संविधान बनाउने बेलामा पनि सबै अग्रगामी शक्ति एक ठाउँमा आएर देशलाई निकास दिएकाे र अहिले समृद्धिको यात्रामा पनि फेरि सबै दल एकै ठाउँमा आउनुको विकल्प नभएकाे उनले बताए । 'हाम्रो कार्यशैली, सोच्ने शैलीमा हामीले पुनरावलोकन गर्नुपर्छ । पुनःविचार गर्नुपर्छ,' उनले भने,'तर यो व्यवस्था फेल भएको छैन ।’



नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रुपमा हिँड्दा आफूहरुलाई कुनै चिन्ता नभएको बताए । नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही कहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने उनकाे टिप्पणी छ । 

‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ,' उनले भने, 'कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन, एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दै जाँदाखेरी सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन ।' 



नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न, हटाउन सक्ने उल्लेख गर्दै खतिवडाले भने, 'सभ्य, शालिन रुपमा प्रस्ततु हुँदा हाम्रो कसैसँग विमति रहँदैन । नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही कहीँ घुम्दैमा लोकतन्त्र समाप्त हुँदैन ।' त्यही आधारमा राजा आइहाल्छ भन्ने पक्षमा आफू नरहेकाे उनकाे भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा र दलहरुमा कमजोरी रहेसम्म केही तत्वहरु सल्बराइरहने टिप्पणी गरे । पूर्वराजाको सक्रियतालाई स्वभाविक रुपमा लिनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो कमजोरी छ, राजनीतिक संस्कारमा कि उपलब्धिहरुलाई संस्थागत गर्न सकिराखेका छैनौँ हामीले । त्यो कमजोरी रहेसम्म सल्बराइरहने तत्वहरु रहिरहन्छन् ।'

उनीहरु बलियो भएको नभएर राजनीतिक दलले गर्नुपर्ने संस्थागत अभ्यास कमजोर भएको झाकाे भनाइ छ । वर्तमान प्रणालीप्रति कुनै किसिमको जोखिम नरहेको उनकाे भनाइ छ । 

  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १८:४१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया