logo-img

बंगलादेशलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा, भारतकाे सामना गर्ने

पाहुना टोली बंगलादेशमाथि सोझो सेटमा जित निकाल्दै आयोजक नेपाल राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा एक खेलअगावै स्थान पक्का गरेको हो । 

समूह ‘ए’को खेलमा यसअघि भारतले पनि लगातार दोस्रो खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान र बंगलादेश एक खेल बाँकी छँदै समूह चरणबाट बाहिरिएका छन् ।

अब नेपाल र भारतबीच समूह विजेताको छिनोफानोका लागि प्रतिस्पर्धा हुनेछ । लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपालको दुई खेलबाट ६ अंक छ । भारतको पनि ६ अंक छ । किर्गिस्तान र बंगलादेशले अंकको खाता खोल्न सकेको छैन । किर्गिस्तान र बंगलादेशबीचको विजेता समूहमा तेस्रो हुनेछ ।



पाहुन टोली बंगलादेशमाथि एकपक्षीय जित निकाल्ने क्रममा पहिलो सेटमा २५–१० को जित निकालेको थियो । दोस्रो सेटको सुरुवातमा बंगलादेशले कडा चुनौती दिए पनि नेपालले २५–८ को सहज जित निकाल्दा नेपालले २–० ले अगाडि रहेको थियो । दोस्रो सेटको खेलमा ६–६ को बराबरीबाट अघि बढेको नेपालले त्यसपछि बंगलादेशलाई थप २ अंक मात्रै दिदै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो । तेस्रो सेटमा पनि सुरुवातदेखि नै अग्रता लिँदै नेपालले २५–९ ले आफ्नो पक्षमा पार्दे जित निकाल्न सफल भयो ।

बंगलादेशविरुद्धको खेलबाटै नेपालका चार खेलाडीले डेब्यु गरे । कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र लिवेरो शान्तिकला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । सबैले बंगलादेशविरुद्धको बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले डेब्यु गराएका हुन् । यसअघि सोमबार किर्गिस्तानसँगको खेलमा संगम महतो र बायाँहाते स्पाइकर रिमा कुँवरले डेब्यु गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा श्रीलंकाबिरुद्ध प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा काजकस्तानले पहिलो सेट २५–१६ ले जितेको थियो ।  



दोस्रो सेट २८–२६ ले जित्न निकाले पनि तेस्रो सेट १८–२५ ले गुमाउन पुगेको थियो । रोमाञ्चक बनेको चौथो सेटमा २९–२७ को जित निकाल्दै काजकस्तानले लगातार दोस्रो जित निकाल्न सफल भयो । यस जितसँगै काजकस्तानको दुई खेलबाट ६ अंक पुगेको छ । श्रीलंका भने अंकविहीन छ । यो समूहमा उज्वेकिस्तानको ३ तथा माल्दिभ्स पनि अंकविहीन छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार नै भएको अर्को खेलमा भारतले कीर्गिस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै सेमिफाइनल नजिक पुुगेको छ । भारतले कीर्गिस्तानलाई २५–१७, २५–८ र २५–८ को सोझो सेटमा पराजित गरेको हो । यस जितसँगै समूह ए मा रहेको भारत २ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । 
 



  • प्रकाशित मिति : जेठ ९, २०८० मंगलबार १९:३८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया