logo-img

गोकर्ण विष्टको माग : उच्च ओहदामा रहेकाको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्नुपर्छ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहदामा रहेकाहरूको सम्पत्ति छानबिन हुनेगरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।   

बुधबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्ति जफत हुनेगरी उच्च ओहदामा रहेकाको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् । 

विष्टले भ्रष्टाचार नियन्त्रणका लागि पनि उच्च ओहदामा रहेकाको स्रोत नखुलेको सम्पत्ति राज्यले जफत गर्नैपर्ने आवश्यकता औंल्याए । 



‘भ्रष्टाचार नियन्त्रणको कुरा आएको छ । मैले सम्मानित सदनसमक्ष राख्न चाहन्छु कि २०४६ साल पछाडि जति व्यक्तिहरू ओहदामा आएका छन् । जति उच्च पदमा आएका छन् । ती सबै व्यक्तिहरूको छानबिन गर्ने र स्रोत नदेखिने कर नतिरेको सम्पत्तिलाई जफत गर्नेगरी कानुन निर्माण गरियोस् । र, विशेष प्रकारको योजना बनाइयोस् । म यो प्रकारले आग्रह गर्न चाहन्छु,’ विष्टले भने । 

उनले सरकारको नीति तथा कार्यक्रम मुलुकको गम्भीरतालाई महसुस गरेर नआएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए ।

‘यताबाट आऊ, उताबाट जाऊ’ भन्ने नेपाली उखान चरितार्थ हुनेगरी सरकारको नीति तथा कार्यक्रम आएको विष्टको भनाइ छ । ‘यो नीति, कार्यक्रम कस्तो छ भने एउटा नेपालीमा उखान छ– यताबाट आऊ, उताबाट जाऊ । दाँतले चपाऊ तर केही पनि नखाऊँ । यही प्रकारको अवस्थामा नीति, कार्यक्रम आएको छ । त्यसकारण आजका गम्भीरताहरूलाई महसुस गरेर नीति, कार्यक्रमलाई अझ नयाँ ढंगले परिमार्जन गर्ने हिसाबले सोचौँ,’ विष्टले भने ।



उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकको आवश्यक्तालाई सम्बोधन गर्न नसक्ने पनि दाबी गरे । 



  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १३:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया