logo-img

छुट सुविधा नदिने ६८ स्वास्थ्य संस्थाको सूची मन्त्रीको हातमा, एक साताभित्र कारबाही गर्न मेयर शाहको आग्रह

काठमाडौं महानगरपालिकाले विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने निःशुल्क उपचार गर्नुपर्नेलगायत सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महानगरले अस्पताल, विभिन्न स्वास्थ्य संस्थाले कानुनअनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायत स्वास्थ्य सुविधाको विवरण माग गर्दा अटेर गर्ने ६८ स्वास्थ्य संस्थालाई नियमन र कारबाही गर्न माग गरेको हो ।

महानगरले ती ६८ स्वास्थ्य संस्थाको सूची स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतलाई समेत बुझाइसकेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले जनाएका छन् ।  



उनले मन्त्री बस्नेतसँग सात दिनभित्र ती संस्थाहरूलाई कानुनी दायरमा ल्याउन पनि आग्रह गरेका छन् । यदि सो अवधिमा ती संस्थामाथि कारबाही नगरिए महानगरले बन्द गर्ने पनि मेयर शाहले अल्टिमेटम दिएका छन् । 

‘नेपालको संविधान र प्रचलित कानुनले आधारभूत स्वास्थ्यसम्बन्धी मौलिक हक राज्यले प्रत्याभूति गर्नुपर्ने र सो अधिकारको कार्यान्वयन गर्ने दायित्व तीनै तहको सरकारको रहेको छ । स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुनअनुसार नागरिकले पाउने स्वास्थ्यसम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ माननीय मन्त्रीज्यूको ध्यानाकर्षण गराउँदै काठमाडौं महानगरपालिकाले छुट सुविधासम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको संलग्न विवरणअनुसार नियमन र कारबाही गर्न अनुरोध गरेको छौँ,’ मेयर शाहले भनेका छन्, ‘यदि मन्त्री ज्यूले ७ दिनभित्र उहाँहरूलाई कानुनी दायरामा ल्याउनुभएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ ।’

महानगरले यही जेठ २ मा विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार गर्नुपर्नेलगायत स्वास्थ्य सुविधा उपलब्ध गराउन सूचना जारी गरेको थियो । सूचनाको अवज्ञा गरेपछि महानगरले अब ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउने तयारी गरेको हो ।  





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार ८:५३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया