धनगढी पुगेर रेशमले भने : टिकापुर घटनाको कथा अर्कै थियो, पटकथा लेखेर फिल्म बनाइयो
‘२०८४ मा चुनाव लड्ने हो, जित्ने हो’

कैलालीको टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीले आफू फेरि चुनाव लडेर जनप्रतिनिधि बन्ने दाबी गरेका छन् । गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका उनले धनगढीमा कैदीबन्दीलाई भेटेपछि  पत्रकारसँग संक्षेपमा  कुरा गर्दै २०८४ मा हुने आमनिर्वाचनमा उम्मेदवार बन्ने बताएका हुन् । 

जन्मकैदको सजायबाट आममाफी पाए पनि जनप्रतिनिधि बन्न कानुनी बन्देज छ नि ? सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘कसले भन्यो, २०८४ को निर्वाचनमा लड्ने हो । जित्न्या हो ।’

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षकको पत्नीले चौधरीको आममाफीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दिएकी थिइन् । सो विषयमा प्रतिक्रिया दिँदै रेशमले अदालतले गर्ने जुुनसुकै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिए ।

‘यो देशको नागरिक भएको नाताले संविधान र कानुनको पूर्ण सम्मान गर्छु । हिजो पनि कानुनको पूर्ण सम्मान गरेर काराबास जीवन व्यतीत गरेको हुँ’, चौधरीले भने, ‘लोकतन्त्रमा संविधानले सबैलाई स्वतन्त्रताको अधिकार दिएको छ । चित्त दुःखेको विषयमा जाने, गुनासो गर्ने हक सबैलाई छ । त्यहीअनुसार उहाँहरु पनि जानुभएको होला । न्यायालयले गर्ने जुनसुकै फैसलाको पनि सम्मान गर्छु ।’

चौधरीले टीकापुर घटनामा ज्यान गुमाएका नाबालक र प्रहरीका परिवारले न्याय पाउनुपर्ने र त्यसका लागि आफूले पनि सहयोग गर्ने दाबी गरे । टीकापुर घटनाको वास्तविकता अर्कै भए पनि कथा अर्कै बनाइएको चौधरीले टिप्पणी छ । ‘घटनाको कथा अर्कै थियो, तर पटकथा लेखियो र फिल्म बनाइयो,’ उनले भने ।

०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा सात सुरक्षाकर्मी र एक नाबालकको मृत्यु भएको थियो । उक्त घटनामा दोषी ठहर भई जन्मकैदको भोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।
 





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १९:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया