logo-img

वैदेशिक रोजगारीमा गएका नेपालीको हितमा बढी ध्यान दिएको छु : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन् ।  

शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित र रक्षाका लागि दिएको बताएका हुन् । उनले विदेशमा रहेका नेपालीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अगाडि बढाएको बताए । 

त्यस्तै, विदेशस्थित नेपाली दूतावासमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धारलगायतका महत्वपूर्ण काम अगाडि बढाएको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । उनले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्ने बताए ।   

‘म वैदेशिक रोजगारीमा भएका लाखौँ नेपाली दिदीबहिनी दाजुभाइहरूलाई पनि विशेष रूपले अपील गर्न चाहन्छु, यहाँ कता–कता नकारात्मक अराजकता, अस्थिरता पैदा गर्ने तत्व र प्रवृत्तिहरू पनि छन् । हामी कसैले पनि देशको एकतालाई कमजोर पार्ने, भएको प्रगतिशील परिवर्तनलाई कमजोर पार्ने, देशमा निराशा र असन्तुष्टिको प्रचार गर्ने त्यो प्रवृत्तिलाई होइन, देशको एकताका पक्षधर, देशभक्तहरू र देशको निम्ति समर्पित भएर लागेका विचार, प्रवृत्तिलाई सहयोग गर्न म अपील गर्न चाहन्छु । मैले आफ्नो कार्यकालमा सबभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित रक्षामा दिने कोसिस गरेको छु,’ प्रधानमन्त्री दाहालले भने । 

उनले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे । प्रधानमन्त्री दाहालले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकतावद्ध गर्न सक्ने बताए ।  

‘जुन शक्ति र विचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकतावद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ,’ प्रधानमन्त्री दाहालले भने ।



उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरूका लागि सबै स्थानीय तहमार्फत अवसरको सिर्जना गरिने पनि बताए ।  



  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १९:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया