logo-img

तापक्रम ४४ डिग्री पुगेपछि दुम्कौलीमा ‘इन्द्र पूजा’

लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कौलीमा ‘इन्द्रपूजा’ गरिएको छ । देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले इन्द्रको पूजा गरेका हुन् । 

खेतबारीमा लगाइएको तरकारी तथा अन्नबालीका साथै फलफूल सुक्न थालेपछि स्थानीयले पानी पारिदिन आग्रह गर्दै वैदिक मन्त्रसहित इन्द्रको पूजा गरेका हुन् । मन्दिर व्यवस्थापन समिति अध्यक्ष तिलप्रसाद पाठकले मन्दिरमा पूजाआजा गरी नजिकै रहेको नारायणी नदी किनारमा पुगेर पानी मागेको बताए ।

पूजा गरेमा पानी पर्ने जनविश्वासका साथ गाउँका सबै जना भेला भएर इन्द्र पूजा गरिएको उनले बताए । ‘देशको अन्य स्थानभन्दा दुम्कौलीको तापक्रम अधिक बढेको कारण स्थानीय भेला भएर धुमधामका साथ इन्द्रको पूजा गरेका हौँ’, उनले भने । जेठको सुरुदेखि नै तापक्रम वृद्धि भइरहेको दुम्कौलीमा शुक्रबार यस वर्षकै सबैभन्दा बढी ४४ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।  



दिव्यधाम मन्दिर व्यवस्थापन समितिका सचिव कृष्णचन्द्र बस्ताकोटीले गर्मीका कारण दैनिक जनजीवन प्रभावित हुनुका साथै कृषकले खेतबारीमा लगाएको मकै सुकेको बताए ।

इन्द्र खुशी भएमा पानी पारिदिने जनविश्वाससहित स्थानीयले मन्दिरमा ब्राम्हणद्वारा पाठ पारायणसहित हवन गर्नुका साथै भजनकीर्तनसमेत गरेका थिए । 





  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार ८:२३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया