logo-img

गर्मीले खेतमै सुक्न थाल्यो उखु, किसानलाई लगानी पनि उठाउन गाह्रो

कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका उनी अहिले उखु सिँचाइ गर्नमा व्यस्त रहेका हुन् ।   

गर्मीका कारण उखु सुक्न थालेपछि उनी प्रचण्ड गर्मीमा पनि खेतबारीमै देखिन्छन् । ‘पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ,’ उनले भने, ‘खेती जगाउन हम्मेहम्मे परेको छ ।’ 

विगत वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको बडायकको भनाइ छ । ‘यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन,’ उनले भने, ‘बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।’ 



बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन् । उनले पनि दुई बिगाह जग्गामा उखु खेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए । ‘आकासे पानीको भरको खेततिरको उखु सुकेको छ, नहरबाट सिँचाइ हुने जमिनमा सिँचाइ गरिरहेका छौँ,’ भट्टले भने, ‘पानी परे खेती जोगाउन सकिन्थ्यो ।’  

उखु बेचेर घर खर्च जोहो गर्ने उनी यसपटक लगानी पनि निकाल्न पनि गाह्रो हुने बताउँछन् । आम्दानीको स्रोतको रूपमा रहेको उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् । केही दिनयता अत्यधिक गर्मी बढ्नुका साथै सिँचाइको लागि आकाशबाट पानी नपर्दा उखु खेतमै सुक्न थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरि जोशीले जानकारी दिए ।

‘यहाँ धेरै ठाउँमा आकाशको पानीको भरमा खेती हुन्छ । पानी नपरेकोले र पछिल्लो समय तापक्रम पनि बढेकोले खेती सुकिरहेको छ,’ उनले भने । कञ्चनपुरको पुनर्वास, बेलौरी, लालझाडी, बेलडाँडी र दोधारा चाँदनीमा बढी उखु खेती हुने गरेको छ । जिल्लाभर आठ सयदेखि एक हजार हेक्टर जमिनमा उखु खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।



कञ्चनपुरमा उखुको उत्पादन प्रतिहेक्टर ५५ देखि ६० टन हुने गरेको छ । यहाँका किसानका लागि उखु बच्न बेलौरी र पुनर्वासमा मिल छ । ‘गहिरो जमिनको खेती त्यति धेरै सुकेको छैन, बालुवा तथा सुक्खा जमिनको खेती सुकेको छ’, सूचना अधिकारी जोशीले भने, ‘किसान नियमित बाली जोगाउन नियमित सिँचाइ गर्न आग्रह गरेका छौँ ।’ रासस 



  • प्रकाशित मिति : जेठ २९, २०८० साेमबार ९:३८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया