logo-img

शारीरिकरूपले अशक्त, कर्मले सशक्त
अपाङ्गताले नछेकेको इलम

नेपाली समाजमा अपाङ्गता भएका व्यक्तिहरूप्रति गर्ने व्यवहार अझै पनि परिवर्तन हुन सकेको छैन । तर, साथ र हौसला पाए जस्तोसुकै अपाङ्गगता भएको व्यक्तिले पनि आफ्नो दैनिकी सञ्चालन गर्न सक्छन् भन्ने उदाहरण समाजमा प्रशस्त छन् ।

उदाहरण हुन्, कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ का रामकरण राना । उमेरले पाँच दशक नाघेका उनी बिहान ८ बज्नासाथ आफ्नो दैनिकीमा लाग्छन् । घरभन्दा ५ मिटर टाढा एक सानो साइकल मर्मत केन्द्र राखेर उनले घर खर्च सञ्चालन गरेका छन् । साइकल मर्मतबाट नै उनले मासिक रुपमा २५ हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छन् ।

रामकरण राना शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् । राना ढाड र खुट्टाको समस्याका कारण राम्रोसँग हिडडुल गर्न सक्दैनन् भने भारी काम गर्न पनि सक्दैनन् । केही वर्ष अघिसम्म वाणीमै साइकल पसलमा साइकल ममतको काम गर्ने रानाले पछिल्लो समय भने गाउँमै साइकल मर्मत पसल सञ्चालनमा ल्याएका हुन । उनले मासिक पाँच सय रुपैयाँ तिर्नेगरी काठको सानो ठेलामा एक वर्षदेखि साइकल मर्मत पसल सञ्चालन गरिरहेका हुन् । उक्त पसलबाट हुने कमाइले घर खर्च चलाइरहेका छन् भने दुई जना छोरीहरूको पढाइ खर्च पनि धानिरहेका छन् ।

त्यति मात्र होइनन् उनले पछिल्लो समय खर्च कटाएर बचत पनि गर्दै आएका छन् । ‘मैले गाउँमा आफ्नै साइकल मर्मत पसल राखेपछि पहिलेको भन्दा आर्थिक अवस्था सुधार भएको छ,’ रानाले भने, ‘अहिले दैनिक कम्तीमा ५० रुपैयाँ, आम्दानी भएको दिन त्यो भन्दा बढि सहकारीमा बचत गर्छु, घर खर्च चलेको छ र दुई जना छोरीहरुको पढाइ खर्च पनि यसैबाट चलाएको छु ।’ रामकरणकी श्रीमतीको पनि हातको अपाङ्गगता छ ।

यस्तै, कञ्चनपुरको कृष्णनगरपालिका–२ को वाणिमा पूर्वपश्चिम राजमार्ग नजिकै विजयशाल सामुदायिक होमस्टेको प्रवेशद्वारमै सानो खोका छ । उक्त खोकामा चाउचाउ, बिस्कुट, नुन, तेल, चिनी, चियापत्तीसँगै किरानाका सामानहरू पाइन्छन् ।



केही दिन पहिले हामी उक्त खोकामा पुग्दा रामबहादुर चौधरी ग्राहकलाई कुरेर बसेका थिए । रामबहादुुरसँगै उनकी श्रीमती मूलीदेवी चौधरी पनि खोकामै थिए । शारीरिक अपाङ्गता भएका दुवै जनाले यो चोकमा खोका राखेर इलम गर्न थालेको धेरै पनि भएको छैन ।

डेढ वर्षदेखि खोका राखेर व्यापार गरिरहेका छन् । सोही व्यापारबाट उनीहरू श्रीमान–श्रीमती र चार जना छोरीहरूका लागि साँझ बिहानको छाक जोहो गर्छन् । ‘शारीरिक रुपमा हामी दुवै जना हिँडडुल गर्न सक्दैनौँ । म जन्मिँदा नै अपाङ्गता भएर जन्मिए,’ मूलीदेवीले भनिन्, ‘उहाँ (श्रीमान) केही वर्ष अघिसम्म अलिअलि हिँडडुल गर्न सक्नुहुन्थ्यो तर ६ वर्षदेखि ह्वीलचियरको सहारामा बाँच्नुपरेको छ । हिजोआज यही व्यापारबाट खान, लाउन जोहो गरिरहेका छौँ ।’ 



उनका श्रीमान रामबहादुर डेढ वर्षको हुँदा प्यारालाइसिस भएर एउटा हात र खुट्टा राम्रोसँग नचल्ने भएको थियो । तर पनि रामबहादुर हरेस खाएनन् । केही वर्षअघिसम्म महेन्द्रनगर पुगेर होटलमा ज्यालादारी गरेर खर्चको जोहो गर्थे तर ६ वर्षदेखि भने उनको स्वास्थ्यमा जटिल समस्या देखिएर ह्वीलचियरको सहारामा बाँचिरहेका छन् । ‘सानैदेखि हातखुट्टा नचल्ने समस्या थियो तर अहिलेको जस्तो पटक्कै हिड्न नसक्ने अवस्था थिएन,’ रामबहादुर सुनाए,‘केही वर्ष महेन्द्रनगरमा होटलमा काम गरेर परिवारका लागि आर्थिक जोहो गरेँ, हिँड्न नसक्ने भएपछि अहिले खोका राखेर बसेको छु ।’ 

उनले त्यसै खोकाको कमाइले अहिले क्रमशः ५, ८ र ९ कक्षामा पढिरहेका छोरीहरूको खर्च जोहो गरिरहेका छन् । खर्च कटाएर मासिक २५ हजार रुपैयाँसम्म बचत गर्ने गरेका छन् । रामबहादुर दम्पती नजिकैको मुक्त कमैया शिविरमा बस्दै आएका छन् ।

४३ बर्षीय रामबहादुर पनि प्यारालाइसिसले गर्दा ह्विलचियरले मात्र ओहोरदोहोर गर्न सक्छन् । घर भन्दा २ मिटर टाढा राखेको व्यापारले रामबहादुर ह्विलचियरकै सहाराले पसलसम्म पुग्छन् । प्यारालाइसिसका बिरामी उनी पहिले–पहिले केही खेती किसानी गर्न सके पनि विस्तारै असक्त बन्दै गए । उनको श्रीमती मुलीदेवी चौधरी पनि शारीरिक रुपले अपाङ्ग छिन् । श्रीमती पनि ह्विलचियरको साहारा विना कहि पनि जान सक्दिनन् । 

यस्तैगरी कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का हिरालाल थारू कुष्ठरोगका कारण १३ वर्षअघि खुट्टा नलाग्ने समस्याले ग्रसित भए । औषधि खाँदा स्वास्थ्य समस्या धेरै नबल्झिए पनि खुट्टा नलाग्ने समस्या अहिले पनि उस्तै छ ।

खेतीपाती गर्ने, डल्लब चलाउने, ज्यालादारी गरेर आफ्नो र परिवारको खर्च धानिरहेका थारूको दैनिकी त्यसपछि भने फेरियो । पुर्खाको जग्गा जमिन भएकै कारण थारूको परिवारले कृषि उपज बिक्री गरेरै भए पनि परिवारका लागि आवश्यक पर्ने खर्च व्यवस्थापन भइरहेकै थियो । तर, एकातिर बढ्दो महंगी र अर्कोतिर पर्यावरण परिवर्तनका कारण कृषि उपजको उत्पादन घटेपछि परिवारको खर्च धान्न समस्या हुन थालेपछि उनले विकल्पको खोजी गर्न थाले । २ वर्ष अघि त्यही बेला गाउँकै विष्णुुप्रसाद चौधरीले उनलाई तराई भू–परिधी कार्यक्रम (ताल) ले ठेला व्यवसाय गर्नेहरूलाई आर्थिक सहयोग गरिरहेकोले आवेदन दिन सुझाए ।

चौधरीकै सुझावका आधारमा उनले ठेला व्यवसायका लागि आवेदन दिएका थारू छनौटमा परे र तराई भू–परिधी कार्यक्रमबाट २३ हजार रुपैयाँ व्यवसाय सञ्चालनका लागि प्राप्त गरेका थिए । थारूले सोही रकमको सहयोगमा २ वर्षअघिदेखि गाउँ नजिकैको चोकमा ठेला व्यवसाय चलाइरहेका छन् । ठेलामा पानीपुरी, चटपटे, चिया, चाउचाउ बिक्री गरेरै उनी मनग्य आम्दानी गरिरहेका छन् ।

‘दिनभर यो चोकमा बुढाबुढी नै ठेला लगाएर बस्छौँ । पानीपुरी, चटपटे र अरू खाजा खानेहरू आउँछन्,’ चौधरीले सुनाए,‘साँझ बिहानैदेखि मेहनत गरे जस्ता कमाइ भइहाल्छ । महिनामा ३५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।’ ठेला व्यवसायबाट हुने आम्दानीबाटै उनको परिवारले पाँच जना छोरी र एक जना छोराको लालनपालन गर्न पुगेको छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०८० मंगलबार १४:१९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया