logo-img

नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने माओवादी नेता शर्माको घोषणा

नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरूको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गरेका छन् । बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहेका उनले नागरिकता विधेयक सम्बन्धी आदेश अविलम्ब सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिए । 

नागरिकता सम्बन्धी आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्ब नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदालतले गर्नुपर्ने उनको माग छ । उनले नागरिकता प्रदान गर्ने आदेश अविलम्ब नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिए । 

नेपालको संविधान २०७२ जारी भएको करिब ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानुन बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिए पनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उनले बताए । नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आइरहेको उनले आरोप लगाए ।



उनले भने, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाहरूको पिडालाई आत्मसात् गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो । तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउन कै लागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र सुरु भएको छ ।’

शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : जेठ ३१, २०८० बुधबार १७:४७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया