logo-img

ओमानविरुद्ध नेपालको घातक बलिङ, ८ रन बनाउँदा लियो ४ विकेट

ओमानविरुद्धको एकदिवसीय अभ्यास खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा सोमपाल कामीले ३ र करण केसीले १ विकेट लिइसकेका छन् ।  

सोमपालले ४.१ ओभरमा ओपनर कश्यप प्रजापतिलाई १ रनमा आउट गर्दै ब्रेकथ्रू दिलाए । सोमपालले यही ओभरको तेस्रो बलमा अकिब इलियासलाई शून्यमै पवेलियनको बाटो देखाए । 

जिम्बाब्वेसँगको वार्मअप खेलमा  इलियासले  १०४ बलमा ११५ रनको सानदार पारी खेलेका थिए । यस्तै, ओमानको तेस्रो विकेट करणले लिए । उनले ओपनर जतिन्दर सिंहलाई ५ रनमा आउट गरे । नेपाललाई चौथो सफलता सोमपालले दिलाए ।



उनले ६.२ ओभरमा मोहम्मद नदीमलाई २ रनमा क्याच गराए । यो समाचार तयार पार्दासम्म ओमानले ७ ओभरमा महत्वपूर्ण ४ विकेट गुमाएर ८ रन बनाएको छ । ​

आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटअघि नेपाल–ओमानले अभ्यास खेल खेलिरहेका हुन् । नेपाल पछिल्लो तीन अभ्यास खेलमा लगातार पराजित भएको छ । आज भने नेपाल ओमानलाई हराउँदै लयमा फर्कन चाहन्छ । 

दक्षिण अफ्रिका भ्रमणका क्रममा स्कटल्याण्ड र नेदरल्याण्ड्सँग हार बेहोरेको नेपाल जिम्बाब्वेमा पहिलो वार्मअप खेलमा यूएईसँग ३ विकेटले पराजित भएको थियो । यस्तै, ओमानले पहिलो वार्मअप खेलमा घरेलु टोली जिम्बाब्वेसँग २८ रनले पराजित भएको थियो । ऊ पनि लयमा फर्कँदै विश्वकप छनोट खेल्न चाहन्छ ।



प्रतियोगितामा नेपाल समूह ‘ए’ र ओमान समूह ‘बी’ रहेका छन् । समूह ‘ए’ मा नेपालसहित वेस्ट इन्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका तथा समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, यूएई, स्कटल्याण्ड र ओमान रहेका छन् । प्रतियोगिता आगामी आइतबारदेखि सुरु हुँदैछ ।  

नेपालले पहिलो खेल ३ असारमा आयोजक जिम्बाब्वेसँग खेल्नेछ । नेपालले दोस्रो खेलमा ५ असारमा अमेरिकाको सामना गर्नेछ । तेस्रो खेलमा नेपालले ७ असारमा वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा ९ असारमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।



शीर्ष तीन/तीन टोली सुपर सिक्समा स्थान बनाउने छन् । सुपर सिक्समा प्रतिस्पर्धा गर्दै शीर्ष दुईमा स्थान बनाउने टिमले यही वर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।  

नेपालको टोली  : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

  • प्रकाशित मिति : जेठ ३२, २०८० बिहीबार १३:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया