राजा महेन्द्रको आदेशमा स्थापित योजनाबद्ध महेन्द्रनगर बजार

कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्रका पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरमध्ये योजनाबद्ध रूपमा स्थापित एक मात्र सहर हो, महेन्द्रनगर बजार । महेन्द्रनगर हाल ‘भीमदत्त बजार’ नामले चिनिन्छ । नेपालमा गणतन्त्र आएपछि महेन्द्रनगरको नाम परिमार्जित गर्दै भीमदत्त राखिएको हो ।

राजा महेन्द्रले ०१४ सालमा देश दर्शनका क्रममा पूर्वको झापा, ताप्लेजुङ, पश्चिमको दार्चुला हुँदै बैतडी पैदल भ्रमण गरेका थिए । भ्रमण गर्ने क्रममा बाटोमा भेटिने व्यक्तिहरूलाई सोधपुछ गर्दा त्यहाँका नागरिकको अवस्था नाजुक भएको थाहा पाएपछि उनले त्यहाँका जनतालाई तराई झर्न आग्रह गरेको स्थानीयको भनाइ छ । 

खान नपुग्ने, कमाइ खान जमिन पनि नभएको गरिबीको अवस्थाका कारण ०१८ सालदेखि पहाडबाट तराई बसाइँ सर्न सुरु भएकोे हो । महेन्द्रनगरमा बसाइँसराइ गर्दै गर्दा यहाँको जमिन गौचरण अवस्थामा थियो । 

स्थानीय नारायण खत्रीका अनुसार त्यतिबेला महेन्द्रननगर बजार गौचरण, खेत र जंगल थियो । त्यो बेला यहाँ थारू समुदायको मात्रै बस्ती थियो । ०१८ सालमा राजा महेन्द्रले ब्रह्मदेवको बजारलाई महेन्द्रनगर सार्न आदेश दिएको उनले सुनाए । ‘त्यतिबेला घनघोर जंगल थियो । डडेल्धुराका मान्छेहरु गाई, भैँसी लिएर गर्मीमा पहाड चढ्थे । मानवबस्ती एकदम कम थियो’, उनले भने, ‘पछि राजा महेन्द्रले व्यवस्थित ढंगको बजार बनाएपछि यहाँ झर्नेहरुको संख्या बढेको हो ।’

बस्ती बस्न थालेपछि महेन्द्रनगरमा ०२५ सालमा प्रशासनिक भवन निर्माण हुन थाले । सुरुमा यहाँ प्रशासकीय भवन, कारागार, जिल्ला हुलाक, स्वास्थ्य केन्द्र र कर्मचारीको आवास निर्माण सुरु भएको अर्का स्थानीय बलदेव अवस्थीले सुनाए । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार गुरुयोजना बनाएर महेन्द्रनगर बजार बनाएको उनले स्मरण गरे । ‘यो नेपाल अधिराज्यकै प्लानिङ सहर हो, यो सहर गुरुयोजना बनाएर बनाएको हो’, उनले भने ।



तत्कालीन अवस्थामा कञ्चनपुर सदरमुकाम पनि बेलौरीमा रहेको थियो । ‘महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण सुरु भएसँगै त्यतिबेलाको बेलौरी सदरमुकाम पनि महेन्द्रनगर सर्यो,’ अवस्थीले भने, ‘सरकारी कार्यालय स्थापना गर्दा पनि हेभी गाडी सञ्चालन हुने कार्यालय राजमार्गसँग जोडेर बनाएको र प्रशासनिक भवन महेन्द्रनगर बजारको एकातर्फ बनाइएको हो ।’ 

त्यतिबेला नै यस ठाउँमा घडेरी बिक्री हुन्थ्यो । ०२७ सालमा राजा महेन्द्र अवलोकनका लागि वनबासापुलमा जाँदा यहाँ सिँचाइको समस्या रहेको थाहा पाएपछि उनैले  महाकाली सिँचाइ नहरको सुरुवात गरेका हुन् । उक्त नहरको डिपिआर इंग्ल्यान्डको कम्पनीले तयार पारेको थियो । 



हाल महाकाली सिँचाइ नहरबाटै महेन्द्रनगरमा सिँचाइ सुविधा उपलब्ध छ । त्यतिबेला बर्माबाट नेपाल फर्कन बाध्य नेपालीलाई राजा स्वयं बर्मा गई त्यहाँबाट नेपाल आउने सबैका लागि महेन्द्रनगर, भैरहवा, बुटवलमा प्रवासी नेपालीको बसोबास गराएका अवस्थीले स्मरण गराए । महेन्द्रनगर बजारको स्थापनापश्चात् पञ्चायतको रजत जयन्तीका बेला महेन्द्रननगर बजारमा राजा महेन्द्र स्मारक स्थापना गरिएको हो । महेन्द्रनगर स्थापनापछि त्यतिबेला यहाँको प्रहरीले बाटो बनाएको थियो । 

हाल महेन्द्रनगरमा फरक पहिचान र विशेषता बोकेका पाँचवटा गल्ली छन् । हरेक गल्लीको आफ्नै विशेषता छ । गल्ली नम्बर १ बजारको पहिलो गल्ली हो । यस गल्लीमा मेडिकल, हार्डवेयरका पसलहरू बढी छन् भने गल्ली नम्बर २ मा बैंक, छापाखाना, इलेक्ट्रोनिक पसल र किराना पसल छन् । गल्ली नम्बर ३ मा अधिकांश मेडिकल छन् भने केही होटल पनि छन् । त्यस्तै, गल्ली नम्बर ४ मा होटल बढी छन् भने गल्ली नम्बर ५ मा पुस्तक पसल तथा बंैक बढी छन् । यहाँको मदन चोकदेखि बसपार्क मञ्चलाइनमा होटल तथा फेन्सी पसल रहेका छन् । 

महेन्द्रनगरको गल्ली न. ५ सबैभन्दा बढी भिडभाड हुने गल्ली हो । क्याम्पस रोड नामसमेत दिइएको यस गल्ली व्यापारका हिसाबले पनि राम्रो मानिन्छ । गल्ली नम्बर १ पनि भिडभाड हुने गल्ली हो । अन्य गल्लीको तुलनामा व्यापारिक हिसाबले १ र ५ नम्बर गल्ली महत्वपूर्ण मानिने व्यवसायीको भनाइ छ । 

विपद्का बेला पनि यहाँ सहज हुने गल्लीहरूको निर्माण गरिएको छ । गल्लीहरूमा बनेका कुनै घर ढलिहाले पनि अर्को घरमा कुनै असर गर्दैन । पछिल्लो समय पार्किङ अभावले यहाँको बजार अस्तव्यस्त देखिन्छ । ठूला सवारीसाधन बजार प्रवेश गर्नुले पनि यहाँ समस्या हुने गरेको व्यवसायीको गुनासो छ । 

बसपार्कदेखि मदन चोकसम्म र मदनचोकदेखि पूर्वतर्फको बजारलाई ‘स्पेसल लाइन’का रूपमा हेरिन्छ । यो लाइनमा अधिकांश फेन्सी पसल रहेका छन् । स्पेशल लाइनलाई व्यापारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । 

महेन्द्रले त्यतिबेला सीमाक्षेत्रमा इन्डियन सैनिक बसाएको र बजार विस्तार गरेको व्यावसायिक जंगबहादुर मल्लले सुनाए । ‘महेन्द्रले बनाएको व्यवस्थित बजार हेर्नुपर्छ भनेर आन्तरिक पर्यटक पनि यहाँ आउँछन्, यस सँगसँगै महाकालीमा पक्की पुल बनेपछि प्रत्येक गल्लीमा बजार विस्तार हुन्छ’, उनले भने । बजार विस्तार भएपछि यहाँ आउने ग्राहकको पनि घुइँचो हुने अध्यक्ष मल्लले सुनाए । ​

सुदूरपश्चिमकै योजनाबद्ध सहरका रूपमा रहेको महेन्द्रनगर पछिल्लो समय अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणले बजारको शोभा बिग्रिने भन्दै यहाँका स्थानीयले चिन्ता प्रकट गरेका छन् । जुन गुरुयोजनाअनुसार बजार बनेको हो, त्यसै गुरुयोजनाअनुसार यो बजार व्यवस्थित हुनुपर्ने व्यवसायीको माग छ । 

व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिने महेन्द्रनगर सहर भारतका ठूला औद्योगिक सहरहरुको छोटो दूरीमा रहेकाले पनि महाकाली नदीमा बन्ने पुलले समृद्धिको केही आशा पलाएको छ । 

  • प्रकाशित मिति : असार २, २०८० शनिबार १७:३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया