logo-img

गुणस्तरीय शिक्षाको खोजीमा नेपाल आउँछन् विदेशी विद्यार्थी, नेपाल बन्न सक्ला शैक्षिक हब ?

तपाईं–हामीलाई बर्सेनि हजारौँ विद्यार्थी पढ्नका लागि विदेश जान्छन् भन्ने थाहै छ। तर, विदेशी पनि पढ्नलाई नेपाल आउँछन् भन्दा अलि अनौठो लाग्न सक्छ। विदेशीहरू त खाली घुम्न मात्रै नेपाल आउँछन् भन्ने धेरैलाई लाग्न सक्छ। तर, विदेशीहरू घुम्न मात्र होइन उच्च शिक्षा अध्ययनका लागि बर्सेनि नेपाल आउने गरेका छन् । त्यो पनि सुविधासम्पन्न देश अमेरिकालगायतबाट । 

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, इन्स्टिच्युट अफ मेडिकल साइन्स महाराजगञ्ज, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान काठमाडौं, युनिभर्सल मेडिकल कलेज भैरहवा, गण्डकी मेडिकल कलेज पोखरा, नेसनल मेडिकल कलेज वीरगञ्ज, मणिपाल मेडिकल कलेज भैरहवा, नेपालगञ्ज मेडिकल कलेज, त्रिविसम्बद्ध प्रतिष्ठान तथा कलेज, काठमाडौं विश्वविद्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत शिक्षण संस्थामा एमबिबिएस, बिडिएसलगायत विषय अध्ययनका लागि उनीहरूले आवेदन दिने गरेको अध्यागमन विभागले जनाएको छ। 

बर्सेनि कति विदेशी ‘स्टुडेन्ट भिसा’मा नेपाल आउँछन्?



अध्यागमन विभागका अनुसार सन् २०२३ मा मात्र चार सय ५० जना विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आएका छन्। यस्तै, सन् २०२२ मा नौ सय ४८ जना आउँदा सन् २०२१ मा आठ सय ९० जना विदेशी विद्यार्थी  अध्ययनका लागि नेपाल आएका थिए। 

यस्तै, २०२० मा आठ सय ९६ जना विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आउँदा सन् २०१९ मा एक हजार  सात सय ६१ जना आएको अध्यागमन विभागको तथ्यांक छ। 



यसरी तथ्यांक केलाउँदा पछिल्ला वर्षमा नेपालमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको संख्यामा वृद्धि भएको छ। कोही व्यक्तिगत लगानीमा पढ्छन् भने कोही सम्बन्धित देशको छात्रवृत्ति पाएर नेपाल पढ्न आउँछन्। यसरी छात्रवृत्तिमा पढ्न आउने सबैभन्दा धेरै चिनियाँ विद्यार्थी हुने विभागले जनाएको छ। 

अध्यागमन विभागले ‘विद्यार्थी’, ‘अध्यापन’ र ‘अनुसन्धान’गरी तीनवटा शीर्षकअन्तर्गत अध्ययन भिसा दिन्छ। अध्ययन भिसा लिन निवेदक नेपालमै आउनुपर्ने भएकाले सुरुमा विदेशी पर्यटक भिसामा नेपाल आउने र त्यसपछि ‘प्रोसेस’ अगाडि बढाउँछन्। अध्ययन भिसा प्राप्त गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिस अनिवार्य हुन्छ। मन्त्रालयको सिफारिसकै आधारमा कुनै निश्चित समयको भिसा विभागले जारी गर्दछ।



नेपालमा अध्ययन भिसाका लागि एकपटकमा एक वर्षभन्दा बढीको भिसा जारी गर्न नपाइने व्यवस्था छ। अध्यागमन विभागका अनुसार नेपालमा अध्ययन भिसा लिने अधिकांश विद्यार्थीकै रूपमा हुन्छन्। उनीहरुले विश्वभाषा क्याम्पसमा नेपालीलगायत विभिन्न भाषा सिक्नका लागि भिसा लिन्छन्।

‘पछिल्लो समय नेपाली भाषा जान्ने विदेशीका लागि अवसरको दायरा फराकिलो हुन थालेको छ, चाहे स्वदेश फर्किएर होस् वा नेपालमै बसेर,’ विभागका एक कर्मचारीले भने। उनका अनुसार काठमाडौं विश्वविद्यालयअन्तर्गत रहेको आर्ट एन्ड डिजाइन विभागमा सारंगी सिक्ने, बाँसुरी बजाउनेलगायत विभिन्न बाद्यबादनका कला सिक्न भन्दै भिसा लिनेको संख्या पनि ठूलो छ।

हरेक वर्ष नेपालबाट अस्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशमा ठूलो संख्यामा नेपाली विद्यार्थी अध्ययनका लागि जाने गर्छन्। तर, तिनै देशबाट नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको संख्या पनि कम छैन।

विदेशी विद्यार्थीमार्फत कति भित्रिन्छ पैसा?

विदेशी विद्यार्थीको रोजाइमा नेपाल अध्ययनको गन्तव्य पर्दा वार्षिक करोडौँ विदेशी मुद्रा नेपाल भित्रिने गरेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको १० (साउन–वैशाख) महिनासम्ममा विदेशी विद्यार्थीबाट मात्रै दुई अर्ब ९९ करोड रुपैयाँ भित्रिएको छ। 

यस्तै, गत आर्थिक वर्ष २०७८–७९ मा १ अर्ब ५१ करोड रुपैयाँ भित्रिएको थियो। यस्तै, आव २०७७–७८ मा १ अर्ब ४ करोड रुपैयाँ भित्रिँदा २०७६–७७ मा २ अर्ब २३ करोड रुपैयाँ भित्रिएको थियो। 

यस्तै, आर्थिक वर्ष २०७५–७६ मा दुई अर्ब २५ करोड १६ लाख रुपैयाँ भित्रिएको थियो। यसरी हेर्दा विद्यार्थीमार्फत पनि नेपालको अर्थतन्त्रमा समेत ठूलो योगदान पुगेको देखिन्छ। 

के नेपाल बन्न सक्छ ‘शैक्षिक हब’?

पछिल्लो समय अध्ययनका लागि विदेशिने नेपालीको संख्यामा वृद्धि हुँदै गर्दा केही विज्ञहरूले नेपाललाई नै ‘शैक्षिक हब’बनाउन सकिने तर्क गर्छन् । नेपाललाई शैक्षिक हब बनाउन चुतौती धेरै भए पनि असम्भव भने नरहेको विज्ञको भनाइ छ। 

‘अध्ययनका लागि नेपालमा यति धेरै सम्भावना छन्,’ शिक्षाविद् बालचन्द्र लुइँटेल भन्छन्, ‘तर, समस्या पनि धरै छन्। सरकारले विदेशी विद्यार्थीलाई अलि धेरै दुःख दिइरहेको हुन्छ । विदेशीलाई सहज तरिकाले अध्ययन गर्न पाउने वातावरण मात्र सरकारले बनाउन सक्ने हो भने नेपालमा सम्भावनै सम्भावना छ।’

नेपाल देश एकदमै सुन्दर छ । हरेक ५० माइलमा यस्तो बायो डाइभर्सिटी छ । यहाँ अध्ययन–अध्यपनका लागि कल्चरका विद्यार्थी विदेशबाटै आउने सम्भावना छ ।

तर, सरकारले हालसम्म त्यो वातावरण बनाउन नसक्दा विदेशी विद्यार्थीलाई सोचेजस्तो आकर्षित गर्न नसकिएको दुखेसो गर्छन्, उनी । उदाहरण दिँदै उनी प्रस्ट्याउँछन्, ‘हामी नेपाली विदेश पढ्न जाने भयौँ भने आफैँ भिसा प्रोसेस गरिदिन्छौँ। तर, विदेशी पढ्न आउँदा हामीले सहज वातावरण बनाउन सकेका छैनौँ। सरकारले यसतर्फ सोच्नुपर्ने आवश्यकता देखिन्छ।’

उनका अनुसार नेपालमा विदेशी विद्यार्थी मात्र होइन, स्वदेशी विद्यार्थीअनुकूल वातावरण पनि छैन। जसले गर्दा पनि नेपाली विद्यार्थी अध्ययनका लागि विदेशिइरहेका छन्। नेपाली विद्यार्थी बाहिरिए पनि विदेशी विद्यार्थीलाई सहज वातावरण निर्माण गर्न सके नेपाललाई धेरै फाइदा पुग्ने देखिन्छ। 

विदेशीहरू विशेषगरेर विविध ज्ञान, परम्परागत विषय, समाजशास्त्र, मानवशास्त्र, योग, बौद्धदर्शन,  हिन्दुजम, जातजातिमा अध्ययन गर्न आउँछन्। उनी भन्छन्, ‘होला नेपालमा इन्जिनियरिङ, साइन्स पढ्न नआउलान्, तर, मेडिकल, भाषा, संस्कार संस्कृतिलगायत विषयमा अध्ययन गर्न आइरहेका छन्। धेरैजसो नेपालका परम्परागत मूल्यमान्यताको अध्ययन गर्न मास्टर्स गरेर रिसर्च गर्न आएको पाइन्छ।’

धेरै विदेशी विद्यार्थीले काठमाडौंमा आएर अध्ययन गरेर काठमाडौंको बारे किताब नै लेखेका छन्। विदेशी विद्यार्थीको रोजाइमा विशेषगरेर कला संस्कृति, साहित्य परेको पाइन्छ। 

यदि सरकारले पढ्ने वातावरण बनाउने हो भने नेपाली डायस्पोरा, बर्मिज केटाकेटी नेपाली भाषामा पढ्न चाहन्छन्। हाल जति नेपाली विद्यार्थी पढ्न विदेशिएका छन्, त्यति नै विदेशी नेपाल आउने सम्भावना रहेको समेत उनको तर्क छ। उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीका छोराछोरीलाई ६ महिना नेपालमा आएर पढ्ने कोर्स तयार गर्ने मात्रै हो भने हाम्रो शिक्षालाई प्रतिस्पर्धी बनाउन सक्छौँ।’

नेपालमा हुने प्राकृतिक प्रकोप अन्वेषण गर्ने र हिमशंखलाबारे अध्ययन–अध्यापन गराउन सकिने उनको सुझाब छ । बुद्धिजमबारे पनि यहाँ अध्ययन गराउन सकिन्छ । यी विषयमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाब छ। यी विषयमा विदेशीहरूबाट अनुभव लिएर पाठ्यक्रम विकास गर्ने र विदेशबाट विद्यार्थी ल्याउने काममा ढिला गर्न नहुने शिक्षाविद् लुइँटेलको ठम्याइ छ । 

‘आज हामी मेडिकलमा नम्बर वान हुन सक्छौँ । इञ्जिनियरिङ, म्यनेजमेन्ट, टुरिज्म, लिबरल आर्टस् र बुद्धिज्म विषयमा पनि हामी यहाँ विदेशी विद्यार्थी ल्याउन सक्छौं,’ उनी भन्छन्, ‘यति विषयलाई राम्रोसँग अघि बढाएको खण्डमा हामी शैक्षिक हब बन्न सक्छौँ ।’

मेडिकलका लागि श्रीलंका र भारतका विद्यार्थी आउन सक्छन् । सरकारले सोचेर काम गर्ने हो भने जोर्डन, कुवेत र अफगानिस्तानबाट नेपालमा विद्यार्थी पढ्नका लागि आउन सक्छन् । तर, यहाँको कर्मचारीतन्त्र र नीतिनिर्माण तहमा भएकाहरुले यसलाई अवसर हो भन्ने बुझेर पनि बुझ पचाएको उनको आरोप छ । 

सरकारले राम्रो नीति बनाउने हो भनेर सार्क मुलुकबाहेकबाट पनि नेपालमा विद्यार्थी अध्ययनका लागि आउन सक्ने उनको तर्क छ। यहाँको शैक्षिक पद्धतिमा सुधार गर्दै त्यस्ता सम्भावना भएका विषयलाई राज्यले नै प्रवद्र्धन गर्न आवश्यक रहेको उनी बताउँछन्। 

‘सबै किसिमले वातावरण तयार हुनुपर्छ । विदेशबाट विद्यार्थी नेपाल ल्याउन कुनै समस्या छैन,’ लुुइँटेलको दाबी छ,‘नेपालमा अध्ययन गर्न विदेशीहरू हुरुक्क हुन्छन्।’ 

विद्यार्थीलाई व्यक्तिगत रूपमा सुरक्षाको ग्यारेन्टी गर्न सकियो र यहाँका डिग्री विश्वस्तरको हुने गरी कोर्सहरु डिजाइन भएर संयन्त्र तयार भए भने विदेशी विद्यार्थी नेपालमा ल्याउन सकिने उनले बताए । अब राज्यले यसतर्फ सोच्न ढिला गर्न नहुने शिक्षाविद् लुइँटेलको सुझाब छ । 

  • प्रकाशित मिति : असार ३, २०८० आइतबार २०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया