घोराही सिमेन्ट आइपिओ : एक करोड कित्ताका लागि फर्जी आवेदन, निष्कासन प्रक्रिया स्थगित

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको सेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक सेयर निष्कासन (आइपिओ)को आवेदनमा शंका लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार घोराही सिमेन्टको क्रेडिट रेटिङ र आइपिओ आवेदनमा शंका लागेपछि स्थगित गरेको हो । धितोपत्र बोर्डले आज कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न भनेको छ ।

'घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए/नभएको बारेको केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० मा पत्राचार भएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधारविना म्याद थपका लागि अनुरोध गर्दै आएको छ,' बोर्डको पत्रमा भनिएको छ, 'साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ताको सेयर आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको छ ।'

क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य सेयरधनी कुनै कम्पनीमा आधारभूत सेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ हुन नपाउने व्यवस्था गरेको छ । घोराही सिमेन्ट र केयर रेटिङ नेपालको लगानीकर्ता एउटै व्यक्ति भएको विषयमा बोर्डले जानकारी मागेको थियो । 

त्यस्तै, आइपिओमा आवेदन भर्नका लागि असार ४ गतेसम्मको समयसीमा तोकिएकामा घोराही सिमेन्टले त्यसलाई बढाएर असार १४ गतेसम्म पुर्याएको थियो । मागभन्दा बढी आवेदन (ओभर सस्क्राइभ) भइसकेको अवस्थामा पनि आवेदनको भर्ने सीमा बढाएको बारे पनि बोर्डले प्रश्न उठाएको छ ।

नक्कली आवेदन



सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सोमबार बेलुका ४ बजेसम्ममा घोराही सिमेन्टको आइपिओमा एक करोड २० लाख कित्ता सेयरका लागि फर्जी आवेदन परेका छन् । बैंक खातामा न्यून रकम राखेर तर ठूलो संख्यामा आइपिओका लागि आवेदन परेको उनको भनाइ छ ।

'यस्तो प्रकृतिको आवेदन विगतमा छिटपुट हुन्थ्यो र बैंक तथा बिक्री प्रबन्धकले त्यसलाई अयोग्य मान्थे । तर, यसपटक ठूलो संख्यामा फर्जी आवेदन परेका छन् । अहिलेसम्म एक करोड २० कित्ता कित्ता सेयरका लागि फर्जी आवेदन परेको पुष्टि भइसकेको छ,' आचार्यले भने । 



अहिले बैंकहरुले आवेदन रुजु गर्ने प्रक्रिया चलिरहेकाले यो संख्या अझै थपिनसक्ने उनको भनाइ छ । यसरी ठूलो संख्यामा फर्जी आवदेन परेको शंका लागेपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डलाई यसबारे जानकारी गराएको पनि उनले बताए । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आजै एक सूचना जारी गर्दै धितोपत्रको सार्वजनिक निष्कासनमा झुटो आवेदन परेको उल्लेख गर्दै यसको पुष्टि भएमा कारबाही हुने जनाएको छ ।

  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १९:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया