logo-img

आरतीका श्रीमान् र ससुरालाई थुनामा पठाउने धनुषा जिल्ला अदालतको आदेश

धनुषा जिल्ला अदालतले रहस्यमय मृत्यु भएको आरती साहको मुद्दामा अभियुक्त बनाइएका उनका श्रीमान् र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका श्रीमान् मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत जेठ ७ गते साँझ आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान् मोतीबाबु र ससुरा मदन मोहनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गालालगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै किटानी जाहेरी दिइएको थियो ।

त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको भन्दै प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो ।

गत असार १ गते दर्ता भएको उक्त मुद्दामा असार ३ गतेदेखि लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो ।



मंगलबार खाजा समयअघि बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।



  • प्रकाशित मिति : असार ५, २०८० मंगलबार १७:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया