logo-img

वेस्ट इण्डिजविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करणलाई पहिलो ओभरमै सफलता

जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इण्डिजविरुद्ध पनि नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।

हरारे स्पोर्ट्स क्लब मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा तीव्र गतिका बलर करण केसीले आफ्नो पहिलो ओभरमै महत्वपूर्ण विकेट लिए ।

करणले १.३ ओभरमा आक्रामक ब्याटर कायल मेयर्सलाई १ रनमा कुशल भुर्तेलको हातबाट क्याच गराए । नेपालले आज पनि अघिल्लो खेलकै प्लेइङ–११ लाई नै निरन्तरता दिएको छ ।  



ओडिआईमा नेपालले पहिलोपटक विश्वकप विजेता टिमको सामना गर्न लागेको हो । वेस्ट इण्डिजले हालसम्म दुईपटक एकदिवसीय र दुईपटक नै टी–२० विश्वकप उपाधि जितेको छ ।   

उसले पहिलोपटक सन् १९७५ मा इंग्ल्याण्डमा भएको एकदिवसीय विश्वकप जितेको थियो । वेस्ट इण्डिज अस्ट्रेलियालाई हराउँदै पहिलो संस्करणमै च्याम्पियन भएको थियो । 

यस्तै, वेस्ट इण्डिजले सन् १९७९ मा आयोजना भएको दोस्रो संस्करणमा घरेलु टोली इंग्ल्याण्डलाई हराउँदै लगातार दोस्रोपटक एकदिवसीय विश्वकप उपाधि जित्यो । 



वेस्ट इण्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकप ट्रफी उचालेको थियो । उसले २०१२ मा श्रीलंकालाई तथा सन् २०१६ मा इंग्ल्याण्डलाई हराउँदै टी–२० विश्वकप च्याम्पियन बनेको हो ।  

नेपाल आज विश्व च्याम्पियन वेस्ट इण्डिजलाई स्तब्ध पार्ने दाउमा छ । पहिलो खेलमा आजकै खेल हुने मैदानमा नेपालले जिम्बाब्वेविरुद्ध २ सय ९० रन बनाएको थियो । आज पनि नेपाल ब्याटिङमा सोही लय कायम राख्दै बलिङमा सुधार गर्न चाहन्छ ।  



पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हार बेहोरेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हरायो । नेपाल आज वेस्ट इण्डिजलाई हराउँदै सुपर सिक्स यात्रा बलियो बनाउन चाहन्छ । 

वेस्ट इण्डिज नेपालविरुद्ध सहज जित निकाल्दै आगामी चरणको यात्रा सुरक्षित गर्ने रणनीतिमा छ । उसले पहिलो खेलमा अमेरिकाविरुद्ध ३९ रनको जित निकालेको थियो ।  

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । समूह ‘ए’ मा नेपालसहित वेस्ट इण्डिज, जिम्बाब्वे, नेदरल्याण्ड्स र अमेरिका रहेका छन् । यस्तै, समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, ओमान, स्कटल्याण्ड र यूएई प्रतिस्पर्धा गरिरहेका छन् । 

दुवै समूहबाट शीर्ष तीनरतीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सको शीर्ष दुई टोलीले यही वर्ष भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।  

नेपालको प्लेइङ–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने र ललितनारायण राजवंशी । 

  • प्रकाशित मिति : असार ७, २०८० बिहीबार १२:५६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया