logo-img

कमला किनारमा बाढी पर्खिरहेका माझी

केही हप्ताअघिसम्म सामान्य अवस्थामा एकनास बगिरहेको कमला नदीले असार लागेसँगै आकार बढाइसकेको छ । असारसँगै सुरु भएको वर्षाले कमला नदीमा   बढेको पानीको बहावले यहाँको अस्थायी काठे पुल बगाइसकेको छ । 

नदीले आकार बढाउँदै गर्दा स्थानीयमा कमला नदीले रौद्ररूप लिन्छ कि भन्ने चिन्ता पनि बढेको छ । त्यसैले नदी किनारका मानव बस्तीमा बस्नेहरू त्रसित बनेका छन् । नदी किनारमा जोखिम बढ्दै जान थालेपछि बगर खेती गर्नेहरू पनि बगर छोड्ने सुरसारमा छन् । 

हुलाकी राजमार्ग हुँदै हिँड्ने यात्रुहरूको सङ्ख्या पातलिँदै गएको छ भने नदी किनारमा डुङ्गा खियाउने माझीहरूको सङ्ख्या भने बढ्न थालेको छ । त्यसै मध्येका एक हुन्–कमला नगरपालिका-५ धनुषाका ८० वर्षीय माझी ‘बा’ रामसेवक सहनी । 



उमेर बुढो भए पनि शरीरमा जोस् भने जवान माझी सरह नै छ । बिहान झिसमिसे नहुँदै  कमला नदीको सारस्वरनाथ घाटछेउ पुग्ने र घाम डुबेपछि मात्रै फर्किने सहनीको दिनचर्या बनेको छ । ‘के गर्नु वर्षाका दुई/चार महिना त हो डुङ्गा चलाउन पाउने । यो सानै उमेरदेखि गर्दै आएको काम हो । यही घाटमा डुङ्गा खियाउँदै जीवन बित्यो । ज्यानले साथ दिएसम्म त काम गर्नै पर्‍यो”, उनले भने ।

कमला-५ का ५२ वर्षीय रामेश्वर सहनीको दिनचर्या पनि त्यस्तै छ । नदी किनारमा बिहानदेखि बेलुका आँखाले देखुञ्चेल डुङ्गा खियाउन उनी व्यस्त हुन्छन् । यो दैनिकी आगामी करिब चार महिनासम्म चल्छ । ‘देशमा हुँदा नौ/दश वर्षको उमेरदेखि यही घाटमा जीवन बितेको छ । बाउ बाजेले महेन्द्र राजमार्ग बन्नुभन्दा पहिले बन्दिपुर नजिकै कमला नदीमा डुङ्गा चलाउनुहुन्थ्यो । त्यहाँ पुल बनेपछि यही घाटमा चलाइरहेका छौ’, सहनीले भने, ‘यहाँ पनि कहिलेसम्म चलाउन पाउने हो ? भाँसिएको पुल नउठेसम्म त होला !’

वर्षा यामका करिब चार महिना डुङ्गा चलाएर प्रतिमहिना दशदेखि बीस हजार आम्दानी हुने उनको भनाइ छ । सहनीका शब्दमा यो रहर नभइ उनको वाध्यता हो । ‘पेसा हो लोभ त लाग्छ तर रहरले नभइ कमला पुल नबन्दा जनताले भोग्नुपरेको सास्तीका कारण बाध्य भएर डुङ्गा चलाइरहेका छौँ । मैले त १५ वर्षभन्दा बढी समय कतारमा बिताए । रातारात हुने त्यहाँको विकास देखेको छु । यहाँ त पुल नदेखेरै पुस्तौँ बित्यो, १२ वर्षअघि पुल बन्न थालेपछि निकै उत्साहित भएका थियौ तर त्यो पनि अलपत्र छ । थप कति वर्ष लाग्ने हो कुनै ठेगान नै छैन’, सहनीको गुनासो छ ।  



उनीसँगै कक्षा ११ मा अध्ययनरत छोरा हरिदेवकुमार सहनी पनि डुङ्गा चलाउन सिक्दै हुनुहुन्छ । बुबाको अनुपस्थितिमा सजिलो होला भनेर फुर्सदको समयमा आफूले पनि डुङ्गा चलाउन सकिरहेको हरिदेवले बताए ।

‘हाम्रो जात नै डुङ्गा चलाउने हो । बुबाले बाजेबाट सिक्नुभयो र मैले बुबाबाट सिक्दै छु । बाजेले कमलामा पुल देख्न पाउनुभएन, बुबाको पालामा पनि बन्छ कि बन्दैन थाहा छैन । के थाहा ! यस्तै अवस्था रहे मैले पनि डुङ्गा चलाएर बस्नुपर्ने हो कि’, हरिदेवले पुलतर्फ हेर्दै  भने ।



स्थानीय समसुदेन मोहमदले पनि वर्षायाममा नजिकका बस्तीबाट कमला नदी वारपार गर्न डुङ्गाको विकल्प नभएको बताउँछन् । उनले वर्षौँदेखि पुल नबन्दा निकै सास्ती खेप्दै जोखिमपूर्ण यात्रा गर्नुपरेको बताए ।

‘मेरो घर नदी वारी पट्टी सिरहा नगरपालिकामा पर्छ । नातेदारहरू नदी पारी धनुषामा बस्छन् । आउजाउ गर्दा डुङ्गाको विकल्प छैन कि त लामो दूरी पार गरेर जानुपर्छ’, मोहम्मद भन्छन्, ‘नेताहरू भोट माग्न आउँदा पुल चाँडै बन्छ भन्छन् तर वर्षौँ लागेर बनाएको पुल एकै वर्षात्मा भासिँदा पनि कसैले केही गरेनन् । कहिले बन्ने हो अनुमान नै लगाउन सकिँदैन ।’

यो पटक अहिलेसम्म पूर्णरूपमा वर्षा सुरु भइसकेको छैन । ढिलो चाँडो विगतका वर्षमा झैँ बाढीको बेला आउँदै छ । नदी किनारका बस्तीमा वर्षा सुरु नहुँदै एक प्रकारको ‘त्रास’ छ । त्यस्तै त्रास छ वर्षौँदेखि डुङ्गा खियाइरहेका माझीहरूलाई पनि । 

मोहमद भन्छन्, ‘केही समय अर्थोपार्जन गरे पनि पुस्तौँ पुस्ता पुल नहुँदाको सास्ती सबैले खेप्नुपरिरहेको छ । तपाईँहरूले देखिसक्नुभयो बुढो र कुप्रो शरीर बोकेर बिहानैदेखि नदीमा आउनुभएका माझी बालाई । बुढा बाजस्तै हामीले पनि यहाँ बाढी पर्खेर बसिरहनुपरेको छ । यो रहर नभइ वाध्यता हो । पुल नहुनुको वाध्यता !’ 

  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १२:२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया