वर्षायाममा स्क्रब टाइफसको जोखिम, कसरी बच्ने ?

वर्षात्को समयमा विभिन्न रोगको संक्रमण हुने जोखिम बढी हुन्छ । यस्तै रोगमध्येको एक हो, स्क्रब टाइफस । 

यदि असारदेखि असोजभित्रमा उच्च ज्वरोको साथसाथै शरीरमा ‘इस्कार’ (घाउ वा पाप्रो) देखिए स्क्रब टाइफस हुनसक्ने सम्भावना प्रबल हुने चिकित्सक बताउँछन् । 

स्क्रब टाइफसले नेपालमा पहिलो पटक सन् २०१५ मा केही बालबालिकामा कडा रूप लिँदा सबैको ध्यान तानेको थियो । तर, यो संक्रमण सन् २०१५ अगाडि नै नेपालमा देखिँदै आइरहेको स्वास्थ्यविज्ञहरूले जनाएका छन् । 

के हो स्क्रब टाइफस ?

स्क्रब टाइफस ‘ओरिन्तिया सुसुगामुसी’ नामक ब्याक्टेरियाको कारणले हुन्छ । संक्रमण भएको ‘माइट’ भन्ने परजीवीले यो रोग मान्छेमा सार्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् ।  

डा. पुनका अनुसार यो कीटजन्य रोगमा पर्छ । यो रोग नेपालमा सन् २०१५ मा धरानका बालबालिकामा देखिएको थियो । ती बालबालिकामा ज्वरो तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । यो रोग खासगरी मनसुनमा बढी देखिने डा. पुनले जानकारी दिए । 



लक्षण 

यसका लक्षण संक्रमण भएको पाँचदेखि २० दिनसम्ममा देखिने गर्छ । मुख्य कुरा माइटले टोकेको ठाँउमा घाउको कालो दाग शरीरमा देखिन्छ । यसबाहेक आँखा रातो हुने, कानमा अनावश्यक आवाज सुनिएकोजस्तो हुने, अत्यधिक टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या, शरीरमा बिबिरा देखिने, लिम्फ ग्रन्थी सुन्निनेजस्ता लक्षण देखिने डा. पुनले जानकारी दिए । 



कुन क्षेत्र बढी जोखिममा ?

यो रोग तुलनात्मक रूपमा सहरी भेगभन्दा पहाडी क्षेत्रमा बढी देखिने सम्भावना हुने डा. पुनको भनाइ छ । ‘पहाडी क्षेत्रमा आँखाले देख्न नसकिने ‘माइट’ परजीवी मुसामा बढी पाइएको छ । गाउँघरतिर भकारीमा राखिएको धानमा मुसा आकर्षित हुन्छ, घाँस पनि धेरै हुन्छ, जसले गर्दा मुसा पनि हुन्छन्,’ उनी भन्छन्, ‘मुसालगायत अन्य जनावरको शरीरमा भएको ‘माइट’ जमिनमा झरेर मानिसको सम्पर्कमा आउँछ । किरा कतै झरेको बेलामा आकस्मिक रूपमा मानिसको शरीरमा प्रवेश गरेर टोक्ने गर्छ ।’

कसरी बच्ने ?

डा. पुनका अनुसार गाउँघरतिर घाँस, दाउरा गर्न जाने व्यक्तिले विशेष ध्यान दिनुपर्छ । हात ढाक्ने बाहुले कपडा लगाउने, धेरै झाडी भएको ठाँउमा नजाने, भुइँमा बस्दा केही कपडा वा कार्पेट बिच्छ्याएर बस्नुपर्छ । सरसफाइमा विशेष ध्यान दिनुका साथै घरवरिपरि मुसा आउन नदिन विकल्प सोच्नुपर्छ । 

स्क्रब टाइफसविरुद्ध खोप छैन । तसर्थ, संक्रमणबाट बच्न विभिन्न उपाय अवलम्बन गर्न सकिने डा. पुनको भनाइ छ । मुसामा हुने ‘चिगर माइट’ किर्नोले संक्रमण फैलाउने भएकाले मुसा आकर्षित नहोस् भन्नका लागि सक्दो घरवरिपरि सरसफाइमा ध्यान दिन उनी सुझाउँछन् । 

उपचार

आफूलाई कुनै शंका लागे तुरुन्तै स्वास्थ्य परीक्षण गराएर समयमै रोगको पहिचान र उपचार गर्न सहज हुने चिकित्सकको भनाइ छ । सहरी क्षेत्रका अस्पतालमा परीक्षण गर्ने उपकरण सहजै उपलब्ध हुन्छन् । तर, ग्रामीण भेगमा परीक्षण गर्ने उपकरण नहुँदा पहिचान गर्न गाह्रो हुन्छ । 

ग्रामीण भेगमा मुख्यतया तीनवटा कुरामा ध्यान दिनुपर्ने डा. पुन बताउँछन् । स्क्रब टाइफस भएको शंका लागेमा ‘डोक्सिसाइक्लिन’ नामक एन्टिबायोटिक खान सकिन्छ । यो औषधि ८ वर्षमुनिका बच्चा र गर्भवती महिलालाई भने दिनुहुँदैन । अन्य व्यक्तिलाई भने अत्यधिक ज्वरो आएको छ भने औषधि खान सकिन्छ । 

औषधि खान दिएको २८ घण्टाभित्रमा एक्कासि ज्वरो घट्छ । यो औषधि गाउँघरतिर सुपथ मूल्यमा सहजै उपलब्ध हुन्छ । गर्भवती महिलामा भने एजिथ्रोमाइसिन नामक औषधि प्रयोग गर्न सकिने उनको भनाइ छ । 

आफू बसेको गाँउ वा स्थानमा पहिले पनि स्क्रब टाइफस देखिने गरेको भए सचेत हुनुपर्छ । तर, स्क्रब टाइफस प्रयोगशालामा परीक्षण गराएपछि मात्र पत्ता लाग्ने भएकाले शंका लागेमा तुरुन्त चिकित्सकहाँ जानुपर्ने डा. पुन बताउँछन् । 
 

  • प्रकाशित मिति : असार १०, २०८० आइतबार १७:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया