logo-img

आत्मनिर्भर प्रदेश बनाउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलस्रोत, कृषि, पर्यटनलगायत क्षेत्रमार्फत आत्मनिर्भर बनाउने योजना रहेको बताएका छन् । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले गण्डकीभित्र आर्थिक आयआर्जनका प्रचुर सम्भावना रहेकाले योजनाबद्ध ढङ्गले प्रदेशलाई आत्मनिर्भर बनाउन लागिपरेको बताए ।

‘हाम्रो प्रदेशले ऊर्जा क्षेत्रको विकासमार्फत आर्थिक सम्बृद्धि हासिलका लागि राम्रो सम्भावना बोकेको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘बूढीगण्डकीदेखि लिएर कालीगण्डकीसम्म जलक्षेत्र गण्डकी प्रदेशमा पर्छ, यहाँ विद्युत् उत्पादनको प्रशस्त सम्भावना छन् ।’

ऊर्जाका क्षेत्रमा राज्यले लगानी गर्नसक्ने अवस्थामा राज्य एक्लै र नसक्ने अवस्थामा निजी क्षेत्रसँग सहकार्य गरेरै भए पनि लामो समयसम्म आम्दानी गर्नसक्ने गरी काम गर्नुपर्ने मुख्यमन्त्री पाण्डेले बताए । नवलपुरको धौबाजीमा रहेको फलाम खानीमा लगानी गर्नुपर्छ भन्ने सोचमा प्रदेश सरकारको रहेकोसमेत उनले जानकारी दिए ।
    
पर्यटन गण्डकी प्रदेश सरकारको प्रमुख आयस्रोत भएको भन्दै मुख्यमन्त्री पाण्डेले बढीभन्दा बढी पयर्टक भित्र्याएर प्रदेश सरकारको आयस्रोत वृद्धि गर्दै आत्मनिर्भर प्रदेश बनाउने योजना प्रदेश सरकारको रहेको बताए । उनले गाँजा खेती तथा घरेलु मदिरालाई ब्रान्डिङ गरेर पनि प्रशस्त आम्दानी गर्नसक्ने अवस्था भएको आवश्यक अध्ययन गरी त्यसलाई पनि अघि बढाउने बताए ।



‘गाँजा भनेको लागूपदार्थ मात्र होइन । यो औषधि जन्य पदार्थ पनि हो भन्ने कुरा अध्ययनले देखाएको छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यसबाट कपडा उत्पादन गर्न सकिन्छ, यसलाई हामीले अध्ययन अनुसन्धान गर्नुपर्यो, यदि गाँजा औषधि जन्य पदार्थ हो भने यसलाई नियमनकारी निकाय गठन गरेर लागूऔषधमा प्रयोग हुन नसक्ने अवस्था सिर्जना गरेर कानुनी व्यवस्था गरी यसको खेती वैध गराउनुपर्छ ।’

मुख्यमन्त्री पाण्डेले घरेलु मदिराको पनि गुणस्तर बढाएर व्यावसायिक ढङ्गबाट राज्यको दायरामा ल्याउनसके स्थानीय तथा प्रदेश सरकारलाई आर्थिक वृद्धिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । घरेलु मदिराको हकमा प्रदेश सरकार स्थानीय सरकारसँगै सहयोग र सहकार्य गरेर काम गर्ने पक्षमा रहेको उनले बताए । 





  • प्रकाशित मिति : असार ११, २०८० साेमबार १६:३२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया