logo-img

धनुषाका पाँच पालिकाले किन ल्याउन सकेनन् बजेट ?

धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन् ।

यही १० असारभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो ।

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा (एमाले) बाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । ‘दुईपटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्‍यौँ । तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित हुनुभयो,’ उनले भने ।



यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक–पटक फोन सम्पर्क गर्न खोज्दा पनि उनले उठाइनन् । यस्तै, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहले बजेट ल्याउने प्रयासमै रहेको बताए । कुन कारणले निर्धारित समयमा बजेट आउन नसकेको भन्ने जिज्ञासामा उहाँले सोही कुरा दोहोर्‍याएर फोन राखे । यस पालिकामा योजना बाँडफाँटमा विवाद रहेको बुझिएको छ । 

कमला नगरपालिकाले नीति तथा कार्यक्रम ल्याए पनि बजेट ल्याउन सकेको छैन । उपप्रमुख शिलादेवी मण्डलले बजेट आउन समय लाग्ने बताइन् । जनप्रतिनिधिहरूको विगतकै माग पूरा नभएका कारण बजेट नआएको उनले बताइन् । 

सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधि नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए ।



सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ छ । तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताइन् । योजना तर्जुमा भए पनि अन्य विषयको  छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ छ । 

यस्तै, औरही गाउँपालिकाका अध्यक्ष उमाशङ्करप्रसाद साहले अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिले विवाद खडा गरेको बताए । उनका अनुसार ती जनप्रतिनिधि अन्य नेताको इसारामा चलेका कारण विवाद भइरहेको बताए । रासस



  • प्रकाशित मिति : असार १२, २०८० मंगलबार १४:३०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया