logo-img

फेरिँदै इचोक गाउँको परिचय

सिन्धुपाल्चोकको इचोक गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरू घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे ।  

बाबुआमा आफैं छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आसमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आसमा छोरीलाई विदेश पठाए । 

दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्ष कायम रह्यो । चेली बेचिने नाममा बदनाम खेप्नुपर्यो इचोकवासीले ।



चेलीबेटी  बेचबिखनको चौतर्फी हल्ला चलेपछि धैरैको ध्यान यस गाउँले तान्यो । चेलीबेटी बेचबिखन रोकथामको नाममा धेरैले यहाँका बासिन्दाका समस्यालाई कमाइ खाने भाँडो बनाए । 

धन कमाउन विदेश गएका कतिपय ऊर्जाशील छोरीहरू ‘एचआइभी एड्स’ जस्तो प्राणघातक रोग बोकेर गाउँ फर्किए । उनीहरूप्रति गाउँमा छिछि र दूरदूर हुन थाल्यो । 

आफू कोक्रोमा छँदै विवाहको टुङ्गो मामाको छोरीसँग भएका पाल्साङ लामा १५ वर्ष पुगेपछि बिहे गर्न खोज्दा मामाकी छोरी अर्कैसँग हिँडेपछि बिहेबाट वञ्चित भए । १५ वर्षको उमेरमा बाबु बितेपछि उनी दुई भाइसहित दुःखजिलो गरी हुर्किए । अरू युवतीसित विवाह गर्न खोज्दा सम्भव भएन । पाल्साङ भन्छन्, ‘गाउँका सबै युवती भारत गए, उमेर पुगेका पुरुषलाई बिहे गर्न हम्मेहम्मे भयो ।’



चेलीबेटी बेचबिखनका लागि बदनाम भएको हेलम्बु गाउँपालिकाको इचोक गाउँमा पुरुषलाई बिहा गर्न निकै समस्या भयो । फुपूचेली, मामाचेली बिहे गर्ने परम्परा भएको इचोकको लामा समुदाय छरिएर बसेका छन् । त्यही वरिपरि नै बिहेवारी गर्नु उनीहरूको परम्परा नै बन्यो । चेलीबेटी बेचबिखनले यहाँ बिहेवारी नै रोकिएको थियो । 

पाल्साङले जस्तै धेरैले यस्ता समस्या भोगे । गरिबीले पिल्सिएका उनीसँग अरूले बिहे गर्न मानेनन् । सिकर्मी काम गरेर जीविकोपार्जन गरिरहेका पाल्साङको इमान्दारी देखेर छिमेकीले छोरी बिहा गरिदिए । ‘भारत जानेलाई कसरी रोक्ने भन्ने कुरा मेरो दिमागमा रातदिन आउन थाल्यो,’ उनले भने ।



बृद्ध आमा र दुई भाइको लालनपालनको जिम्मा पनि जेठो भएका कारण पाल्साङकै काँधमा थियो । अझ गरिबीले पिल्सिएका बेला आमाले यी छोरा जन्माउनुको सट्टा छोरी जन्मिएका भए त भारत पठाउँथे नि भनेको सुन्दा पाल्साङलाई दिक्क लाग्थ्यो । दिनभरि काममा गए पनि राति त्यही कुराले उनको मन कुटुकुटु खाइरहन्थ्यो ।  

करिब ६ महिना आफ्ना साथीभाइसँग सल्लाह गरेपछि पाल्साङको अगुवाइमा इचोकका ११ युवा मिलेर समाज उत्थान युवा क्लब गठन भयो । ‘सुरुमा भारत जान रोक लगाउने भन्ने कुरा गर्नै भएन, राति राति मात्रै बैठक राखेर काम अघि बढायौँ,’ पाल्साङले भने । २६ वर्षीय उनलाई सुरुका दिनमा क्लबका नाममा काम गर्न निकै गाह्रो पर्‍यो । 

‘सुरुआतमा धेरैको हप्कीदप्की खायौँ । अहिले सबैले कुरा बुझे,’ उनले भने । गरिबीले पिल्सिएका पाल्साङले खाने बाटो बनाउन क्लब खोलेको भनी गाउँमा हल्ला चल्यो । यति हुँदा पनि उनी विचलित भएनन् । ‘क्लब स्थापनायता कहिँकतैबाट पनि एक रुपैयाँ लिएको छैन । बरु ऋण काढेर क्लबका गतिविधि अघि बढाएको छु,’ पाल्साङले भने ।

उनको अगुवाइपछि धेर थोर पढेका युवती बेचबिखनविरुद्ध आफैं जुर्मुराएका छन् । आफ्ना समस्या समाधानका निम्ति उनीहरू सक्रिय बनेका छन् । जनचेतना जगाउन  घरघर धाउन थालेका छन् । यसअघि चेली फकाउन दलाल यसरी नै घरघर धाउँथे । अभिभावक र देखासिकीमा भारत जान खोज्ने चेलीहरूलाई उनीहरूले सम्झाइ बुझाइ गर्न थालेका छन् ।    

‘चेली बेचिने गाउँ इचोकको परिचय अहिले बदलिएको छ । अहिले सबै सचेत छन् । छोरीचेली आफैं सचेत भएका छन् । अभिभावक बढी जिम्मेवार बनेका छन्,’ पासाङले भने । अब उनीहरू रोजगारीका लागि भारत होइन, खाडीमुलुकतर्फ जान थालेका छन् । चेलीको चेतनाकै कारण अब दलालहरू गाउँ पस्न हिम्मत गर्दैनन् । यो परिवर्तनका लागि पाल्साङको अहम् भूमिका छ ।  

तथ्याङ्कअनुसार केही वर्ष अघिसम्म इचोकबाट बर्सेनि ५० भन्दा बढी चेली विदेश जाने गरेका थिए । विदेशिने सबै तामाङ जातिका थिए । उनीहरूको आकर्षकस्थल  भारत नै थियो । त्यसयता इचोकबाट विदेशिने युवतीको सङ्ख्या घटेको छ । पछिल्लो एक वर्षमा २३ युवती रोजगारीका लागि भारत बाहेक अन्य मुलुक गएका छन् । 

इचोक चनौटेमा केही वर्षदेखि क्रियाशील चेलीबेटी बेचबिखन नियन्त्रण तथा परिवार नियोजन सङ्घका प्रमुख दीर्घराज उपाध्याय स्थानीय महिला सक्रिय बनेपछि विदेश जाने चेलीको सङ्ख्या घट्दै गएको बताउँछन् । सिन्धुपाल्चोकका विभिन्न गाउँबाट दलालमार्फत बेचिएर फर्केका झन्डै २ सय ५० महिलालाई समाजमा पुनःस्थापित गराएको उनले बताए । रासस  

  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार ९:४९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया