logo-img

कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने
फाइल तस्बिर

कोशी प्रदेश सभाको बैठक आज पुनः बस्दै छ । बिहान ११ बजे बोलाइएको छ ।

आजको बैठक मार्फत् मुख्यमन्त्रीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित भएको थियो । 

बिहीबार बसेको बैठकमा मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि बैठक स्थगित भएको थियो ।



सुरुमा आधा घण्टाका लागि बैठक स्थगित गरिए पनि निर्धारित समयमा बैठक बस्न नसकेपछि बेलुका ८ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर बैठक पुनः सुचारु नभई राती सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिए पछि सङ्कटमा परेका मुख्यमन्त्रीले आज विश्वासको मत लिने प्रयास गरिरहेका छन् ।

जम्मा ९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्री कार्कीलाई आफ्नो सरकार जोगाउन जम्मा एक मत अपुग छ । सरकार जोगाइराख्न ४७ मत आवश्यक रहे पनि अहिलेसम्म उनले नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ प्रदेशसभा सदस्यको समर्थन पाएका छन् ।



विपक्षमा पनि सोही संख्यामा प्रदेश सभा सदस्यहरू रहेका छन् । विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका ४ गरी ४६ प्रदेशसभा सदस्यहरू छन् । हालको अंकगणितमा निर्यायक जसपाका १ जना सांसद छन् । तर प्रदेश नामकरणको विषयमा जसपा तटस्थ बस्ने जनाएको छ । कोशी प्रदेशमा पहिचान वादीहरूले प्रदेश नामाकरणको विषयमा आन्दोलन गर्दै आएका छन् । 



  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार ८:१४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया