logo-img

अर्जुननरसिंह केसी भन्छन् - कांग्रेस भ्रष्टाचारको संरक्षकको रूपमा चिनिँदैछ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकको रूपमा चिनेका बताएका हुन् । 

उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकको रूपमा पनि चिनेका बताए । केसीले जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र बिचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए । 

‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिको रूपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकको रूपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रूपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरू के विकल्प छ भनेर खोजिरहेका छन्,’ सांसद केसीले भने, ‘जनता विकल्प खोज्छन्, कसैलाई कुरेर बस्दैनन् । हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानी, बासि प्रवृत्ति लिएर अगाडि बढ्यौँ भने आउने परिस्थिति कांग्रेसको निम्ति अत्यन्त चुनौतीपूर्ण हुन्छ । त्यो लोकतन्त्रको निम्ति पनि चुनौतीपूर्ण हुन्छ ।’
 
नेता केसीले कांग्रेसभित्र वैचारिक पुर्नजागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए । 

‘नेपाली कांग्रेसभित्र वैचारिक पुनःजागरणको एउटा नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता छ । नत्र भने हामी गम्भीर चुनौतीको बेलामा छौँ । पार्टीभित्र आएका चुनौती, पार्टीभित्र लागेका दोषारोपणहरू, यो समग्र रूपबाट एक ठाउँमा उभिएर नयाँ विचार र दृष्टिकोणसहित हामी अब सुध्रियौँ है भनेर नेपाली जनतालाई भन्ने र हामीले जे गल्ती गरेका छौँ, यहाँनिर चाहिँ गल्ती भएको हो है अब हामी गल्ती गर्दैनौँ भनेर त्यो ढंगले जान सकेनौँ भने लोकतन्त्रलाई चुनौती छ । पार्टीलाई पनि चुनौती छ,’ उनले भने ।





  • प्रकाशित मिति : असार १५, २०८० शुक्रबार १९:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया